कागेश्वरी मनोहरा– ६ क्रिकेट मैदान नजिकैको हाइटमा रहेको मनकामना मन्दिर संरक्षणको अभावमा परेको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष  ७२ वर्षीय बद्रीप्रसाद पोेखरेलका अनुसार २०४८ साल जेठमा राति सपनामा मनकामना जान लागेको र खैरेनीभन्दा माथि चौतारामा पुगेपछि थकाइ मार्न टुसुक्क बस्दा निदाएको र एकैछिन निदाउँदा एक बालिका आएर ‘तपाईं किन मेरो दर्शन गर्न आउनुहुन्छ ? म तपाईंकै छेउमा आउँछु’ भनिछन् ।

“सपनाबाट झसङ्ग बिउँझिएपछि मनकामना मन्दिर स्थापना गर्ने सोचमा पुगेँ”, पोखरेलले भने । हाल क्रिकेट मैदान भएको ठाउँ ठाउँमा तत्कालीन गाउँ पञ्चायतले संरचना निर्माणका लागि ढुङ्गा थुपारिदिएको थियो । सोही ठाउँको दुईवटा शिला कृष्णप्रसाद सापकोटा र चन्द्रदत्त  दुलालको सहयोगमा ल्याएर घर छेउमा रहेको सार्वजनिक डाँडो (क्रिकेट मैदान हाइट)मा स्थापना गरेको पोखरेलले बताए । 

सो मन्दिरको शिलान्यास २०४९ सालमा पण्डित ऋषिराम पोखरेलले गरेका थिए र मन्दिर बनिसकेपछि २०५२ सालमा पण्डित नारायण अर्यालले उद्घाटन गरेका थिए। यो मन्दिरमा हालसम्म सातवटा सप्ताह र १० वटा जति विवाह व्रतबन्ध भइसकेको पोखरेलले बताए । 

“आफ्नो उमेर हुँदा खट्न सकिन्थ्यो र सेवा सेवा गरिन्थ्यो, पुजारीलाई समेत तीन वर्ष रु नौसय दिने गरेको थियो, अहिले त्योसमेत दिन सकेको छैन । स्थानीय युवाहरुको पटक्कै सक्रियता छैन, मन्दिरको संरक्षण भएको छैन, तिवारी टोलको शिव मन्दिर र यो मनकामना मन्दिरको लागि भनेर तत्कालीन केदार थापा उपाध्यक्ष हुँदा ? छ लाख आएको थियो सो रकमसमेत मनकामना मन्दिरलाई उपलब्ध भएन”, दुःखी हुँदै उनले सुनाए ।

उहाँका अनुसार कृष्णहरि थापा नगरप्रमुख हुँदा रु १० लाख प्राप्त भएको थियो । सो रकम मन्दिर छेवैको सडकको पर्खाल बनाउन खर्च भएको छ । सातवटा फलामे बेन्च मन्दिर छेउमा राखिएको छ । 

मन्दिरका पुजारी नन्दप्रसाद सापकोटालाई दुई/तीन महिना ? एक हजार पारिश्रमिक समितिले उपलब्ध गराए पनि अहिले दिन सकेको छैन । “म भगवान्को सेवा गर्न त्यसै खुसी छु ,बस्ने बास पाएको छु ,मन्दिरमा चढाएको भेटीले नै गुजारा चलाएको छु”, पुजारी सापकोटाले भने । 

  अब नगरपालिकामा बजेट प्रस्ताव गरी मन्दिरको विकासका लागि काम गर्ने वडाध्यक्ष प्रकाश फुँयालले बताए ।