पूर्वी नाका काँकरभिट्टा र भद्रपुर नाकाबाट आज भारतका विभिन्न स्थानका सन्थाल समुदाय समूह बनाएर नेपाल आएका छन् । दसैँको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलनका लागि उनीहरु नेपाल आएका हुन् ।

पश्चिम बङ्गालको नक्सलबाडी र बतासीबाट दुई सयभन्दा बढीको सङ्ख्यामा उनीहरु झापाको भद्रपुर, धुलाबारी, बिर्तामोड, शनिश्चरेलगायतका क्षेत्रमा नृत्य देखाउन आएको समूहका विशाल बेस्राले बताए ।

 “वर्षौंदेखि दसैँको सप्तमीका दिनदेखि हाम्रा कला संस्कृति देखाउन नेपाल आउने गरेका छौँ”, उनले भने, “नृत्य सन्थाल जातिको पुर्ख्यौली परम्परा हो । हाट बजार र भ्याएसम्म नेपालीको घरदैलोमै पुग्छौँ ।” पन्ध्र देखि ५० वर्ष उमेर समूहका पुरुषहरू नेपाल आएको उनले बताए ।

विभिन्न समूह बनाएर आएका उनीहरूमध्ये एक समूह बिर्तामोड, अर्को शनिश्चरे र भद्रपुरतिर बाँडिएको उनको भनाइ छ । उनले टीकाको दिनसम्म नेपाल बसेर नृत्य देखाउने उद्देश्य रहेको जानकारी दिए । रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र काँसको फूल सिउरिएर आएका उनीहरुले सन्थाल गीतमा नृत्य गर्ने गरेको बताए ।