धरान । वास्तविक मूल्यभन्दा बढी मूल्य राखेर बिक्री गरेको पाइएपछि धरान उपमहानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिले केही व्यावसायिक संस्थालाई स्पष्टीकरण सोधेको छ ।

धरान–९ को सैलुङ स्टोरमा वास्तविक मूल्य छोपेर बढी मूल्य राखेको पाइएपछि उपप्रमुख अइन्द्रविक्रम बेघाको नेतृत्वमा गरिएको बजार अनुगमन समितिले स्पष्टीकरण सोधेको हो । दुई दिनभित्र स्पष्टीकरण दिनका लागि निर्देशन गरिएको उपप्रमुखसमेत रहेका बजार अनुगमन समितिका संयोजक बेघाले जानकारी दिए ।

‘दुई दिनभित्र स्पष्टीकरण दिन भनी पत्र काटेका छौं’–उनले भने । सैलुङमा बिक्रीका लागि राखिएको चामलमा वास्तविक मूल्यलाई छोपेर नयाँ मूल्य कायम गरी बिक्री गरेको पाइएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।

उक्त चामल बिक्री गर्ने थोक बिक्रेता तथा सप्लायर्स बाबा शिव ट्रेडर्सका सञ्चालक अमित अग्रहरीलाई पनि स्पष्टीकरण सोधिएको छ । उनलाई अनुगमनकै क्रममा सुनसरी उद्योग वाणिज्य सङ्घमार्फत् बोलाइएको थियो । ज्ञान नामक ब्रान्डको चामलमा बढी मूल्य राखेर बिक्री गरेको पाइएको हो ।

अधिकतम् मूल्य लेखिएको ‘एमआरपी’ मूल्य छोपेर अर्को नयाँ मूल्य कायम गरिएको थियो । अनुगमन अधिकृत सापकोटाका अनुसार सैलुङ र बाबा शिव ट्रेडर्सलाई दुई दिनभित्र स्पष्टीकरण दिन पत्र थमाइएको छ ।

यस्तै भाटभटेनीमा पनि अनुगमन गर्दा त्यहाँ म्याद नाघेका खाद्यवस्तुहरू एकै स्थानमा राखेको पाइएपछि सच्याउनका लागि निर्देशन गरिएको अनुगमन अधिकृत सापकोटाले बताए । सामान्यतः म्याद नाघेका र नयाँ मिति भएका वस्तु तथा सामग्री एकै ठाउँमा राख्न हुँदैन । अलग अलग राख्नुपर्ने व्यवस्था भए पनि एकै स्थानमा राखेको पाइएपछि सच्याउनका लागि निर्देशन गरिएको उनले बताए ।

त्यस्तै धरान–३ को एक औषधि पसलमा नार्कोटिक (मनोद्दिपक) औषधिहरू आयात र निर्यातको तथ्याङ्क नपाएपछि स्पष्टीकरण सोधिएको छ । मनोद्दिपक औषधिहरू बिक्री र खरिदको तथ्याङ्क चुस्त राख्नुपर्ने प्रावधान छ ।

अनुगमन समितिले धरानको माछा र मासु पसलमा पनि अनुगमन गरेको जनाएको छ । केही मासु पसलहरू सञ्चालन अनुमति नलिई सञ्चालन गरेको पाइएपछि सञ्चालन अनुमति लिन निर्देशन गरिएको छ ।