विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ । 

विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा  दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लबलाई ४–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो । 

एक गोलकाविरुद्ध दुई गोलले अगाडि रहेको दमकले अन्तिम ३० सेकेण्ड आफूलाई समाल्न नसक्दा जितका लागि टाइब्रेकरको सामना गर्नु परेको थियो । दमकका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवाश आङ्थुपोले गोल गरे भने एलबी आलेको प्रहारलाई गोलरक्षकले बचाउ गरे । विराटनगरका सुरेन्द्र तामाङ, अंकुर खड्गी, सुरज श्रेष्ठले गोल  गरे भने नवीन्द्र लिम्बूको प्रहारलाई गोलरक्षले विफल पारेका थिए । अन्तिममा प्रहार गरेका लाक्पा लामाको प्रहार सिधा पोष्टमाथिबाट बाहिरिएको थियो । 

खेलको ४९ औं मिनेटमा दमकका देउमान लिम्बूले पाएको क्रसपासमा हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै ५० औं मिनेटमा विराटनगरका सुरेन्द्र तामाङ बक्स अगाडिबाट गरेको प्रहार सिधा जाली चुमाउँदै खेल बराबरीमा ल्याए । 

५८ औं मिनेटमा दमकका सुवास आङ्थुपोले सेन्टरबाट ट्याक्ल अघि बढाएको बल वान भर्सेस वानको स्थिति बनाएर गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेल सकिन ३० सेकेण्ड बाँकी छँदा विराटनगरका सुरज श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए । 

खेलको म्यान अफ द म्याच दमकका गोलरक्षक सुनील तामाङ भए । सर्वाधिक गोलकर्ता विराटनगरका सुरज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवाश आङ्थुपो भए । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँका साथै ट्रफी प्राप्त गरे । व्यक्तिगततर्फ २ हजार १ सय रुपैयाँ पुरस्कार पाए । 

फाइनल खेलका अवसरमा पूर्व खेलाडी ललित थापा, गोर्वद्धन आले, गम्भीर लामा र अन्नतराज थापालाई सम्मान गरियो । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, उद्योगी तथा समाजसेवी अरुण राठी, वडाध्यक्ष उद्धव भुजेल, किशोर शाही, खेल संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरे ।