चार्डपर्व नजिकिएसँगै जिल्लामा खेलकुदका गतिविधि पनि बढ्न थालेका छन् । जिल्लाको विभिन्न मुख्य खेल प्रतियोगिता हुने मेलम्चीमा खेल मैदान नहुँदा आयोजकहरु इन्द्रावती बगरमा प्रतियोगिता आयोजना गर्न बाध्य छन् । 

शनिबार सम्पन्न नगरस्तरीय भलिबल इन्द्रावती बगरमा रहेको निमार्णाधिन बसपार्कमा आयोजना गरिएको थियो ।  घाम लाग्दा गर्मी र पानी पर्दा हिलो भएर प्रतियोगिता सञ्चालन गर्न कठिन भएको आयोजक ओम वाइबा गुनासो गर्नुहुन्छ । जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ । 

भलिबल, फुटबल, क्रिकेट, कराँतेलगायत विभिन्न खेलकुदमा सक्रिय सहभागिता हुँदै उत्कृष्ट नतिजासमेत हासिल गर्दै आएको सिन्धुपाल्चोकमा पछिल्लो समय कोराना, बाढी तथा पहिराका कारण कम भएको खेलकुदका गतिविधि बढ्न थालेको छ । चाडपर्वको मुखमा मात्र आयोजना हुने खेलकुदका गतिविधिमा खेलाडीको भने त्यति उत्साह पाइँदैन ।

“बनेका संरचना बाढीले बगाएपछि खेल मैदानलगायत पूर्वाधार अभावका कारण खेल क्षेत्र सिथिल भएको हो खेल क्षेत्रलाई उकास्न तिनै तहका सरकार क्रियाशील रहन आवश्यक रहेको भन्नुहुन्छ”, पूर्वखेलाडी सिपी दुलाल । 

रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला गत वर्षको बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदान अभाव छ ।

सबै क्षेत्रमा जस्तै खेलमा पनि राजनीति भित्रिँदा कतिपय राम्रा खेलाडीले स्थान पाउन सकेका छैनन् । “खेल क्षेत्रलाई राजनीतिकरण नगरी स्वतन्त्ररुपमा छोड्न पर्ने खेलप्रेमीको सुझाव छ । पूर्वाधार, कोच र खेलाडीको सुन्दर भविष्यका लागि राज्यले सोच्नपर्ने बताउनुहुन्छ”, खेलप्रेमी सुशान्त सिग्देल ।

जिल्लामा खेलकुदको राम्रो सम्भावना हुँदाहुँदै पनि अन्योल भविष्यका कारण खेलाडीको लगनशिलता पाइँदैन । कोही विदेशिएका छन् भने कोही जागिरको सिलसिलामा अन्यत्र छरिएका छन् । तिनै तहको सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै खेलक्षेत्रलाई उकास्ने योजना रहेको जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष रमेशकुमार खड्का बताउछन् ।  

इन्द्रावती, सुनकोसी, चौतारा, लिसङ्खुपाखरबाहेकका पालिकामा पर्याप्त खेल मैदान नभएको जिल्ला खेलकुद विकास समितिका पूर्वध्यक्ष शिव देउजाको भनाइ छ ।  

मेलम्ची नगरपालिकामा अघिल्लो कार्यकालमै निर्माण भएको खेल मैदान कर्भडहल गत वर्षको बाढीले बगाएपछि अहिले खेल मैदानको खोजीमा नगरपालिका लागिपरेको नगर प्रमुख आइतमान तामाङ बताउछन् । उहाँ खेल क्षेत्र र खेलाडीलाई उकास्न नगर सधैँ तयार रहेको उल्लेख गर्छन् ।

सिन्धुपाल्चोकमा थुप्रै खेलाडी भए पनि पछिल्लो समय अन्यत्र पलायन हुँदा नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् । राज्यले खेलाडीको मनोबल उकास्नका लागि खेलक्षेत्रमा पर्याप्त लगानी गर्न आवश्यक रहेको खेलप्रेमि बताउँछन् ।