भद्रपुर । कपडा बोकेको पिकअप गाडीलाइ कार्यकर्ताले रोकेर नियन्त्रणमा लिएपछि विवाद भएको छ । भारतबाट भन्सार छलेर नेपाल भित्राएको आशङ्कामा मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा सङ्गठनका कार्यकर्ताहरूले सडकमै पिकअप रोकपछि विवाद भएकोे हो । 

घटना अनुसार झापाको चारआली – केचना सडक खण्डअन्तरगत भद्रपुर–२ स्थित देउनिया पुल नजिकै विहीबार लत्ताकपडा लोड गरिएको प्रदेश १–०१–००१ च ७७९५ नम्बरको पिकअप युवा लिग नेपालका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष रविन लिम्बूको नेतृत्वको कार्यकर्ताहरूले रोकेपछि  विवाद सुरु भएको थियो । 

 विवादपश्चात् सङ्गठनका कार्यकर्ताहरूले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भद्रपुरलाई जिम्मा लगाएपछि सशस्त्र प्रहरीले  पिकअप सहित भद्रपुर भन्सार कार्यालय लिएर गएको थियो ।

 मूल्य अभिवृद्धि कर (बिल) नभएको भन्दै सङ्गठनका कार्यकर्ताहरूले लत्ताकपडासहितको पिकअप राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउनुपर्ने माग राखेपछि नियन्त्रणमा लिएको लत्ताकपडासहित पिकअप भन्सारले बुझ्न नमानेपछि सशस्त्र र नेपाल प्रहरीले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

विवादका क्रममा दुवै पक्षबीच सामान्य झडप हुँदा सङ्गठनका राजेन्द्र राई घाइते भएको अध्यक्ष लिम्बूले बताए । झडप भएसँगै सशस्त्र र नेपाल प्रहरीले घटनालाई साम्य बनाउँदै सङ्गठनका कार्यकर्ताहरूलाई सुरक्षा दिएर भन्सारभित्रै राखेका थिए भने घाइतेलाई उपचारका लागि अस्पताल पठाएका थिए ।

यता सामान धनी अरुण साहका अनुसार भद्रपुरको अनुज इन्टरप्राइजेजबाट ज्योति कपडा पसल र जय माता वस्त्रालय बनियानीको नाममा भ्याट बिल जारी गरी सामान खरिद गरी पिकअपमा हालेर लगिरहेको अवस्थामा गुण्डागर्दी शैलीमा कार्यकर्ताहरूले चालकलाई खुकुरी देखाएर सामान नियन्त्रणमा लिएको आरोप लगाए ।

मोटरसाइकलमा आएका क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले सडकमा पिकअप रोकेर रकम बार्गेनिङ गरेको उनले आरोप लगाए । लामो समय बार्गेनिङमा कुरा नमिलेपछि उनीहरूले उल्टै सशस्त्रलाई बोलाएर पिकअप जिम्मा लगाएको शाहको आरोप छ । उनीहरु विरुद्ध वडा प्रहरी कार्यालय भद्रपुरमा जाहेरी दिएको व्यवसायी तुलाराम हलुवाइले बताए । 

त्यस्तै युवा लिग नेपालका केन्द्रीय सदस्य लिम्बूले राजश्व छलेर सरसामान तस्करी भइरहेको सूचनाका आधारमा पार्टीका कार्यकर्ताले सामानसहितको पिकअप नियन्त्रणमा लिएको बताए । पार्टीको निर्देशन अनुसार काम गरेको उनले बताए ।

तत्काल गाडीमा बिल विजक नभएको र पछि बिल ल्याएको उनले बताए । स्थानीय प्रहरी देखी माथिल्लो निकायसम्म लाइन दिएर राजश्व छलिगरिरहेको पाइएकोले थप अनुसन्धान गरेर लाइन दिएर तस्करी गराउनेको नामावली सार्वजनिक गरिने उनले जनाए । कार्यकर्ता घाइते भएकोले आक्रमणकारी विरुद्ध सम्बन्धीत निकायमा उजुरी दिने उनले जनाए ।