विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी १ नं. प्रदेशस्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई ५–० गोलले हराउँदै भरौल भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको हो ।

जितको लागि भरौलका डेनी राईले ह्याट्रिक गरे । उनले खेल अवधिभरमा तीन गोल गरे भने भरौलका प्रेम सागरले एक गोल गरेका थिए । एक गोल आत्मघाती भयो । भरौललाई सेमिफाइनलमा पु¥याउन डेनीले खेल सुरु भएको पाँचौं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाए ।

पहिलो गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै डेनीले पुनः आठौं मिनेटमा गोल गरी दोब्बर बनाए । खेलको २८ औं मिनेटमा मिल्स भेट्रान्सका सुरज बस्नेतले आत्माघाती गोल गरिदिए ।

पूरा समय मिल्स भेट्रानमाथि हाबी भएको भरौलले हाफपछि दुई गोल गर्यो । ६० औं मिनेटमा प्रेम सागरले गोल गर्दै ४–० को अग्रता बनाए । ६७ औं मिनेटमा डेनीले ह्याट्रिक पूरा गर्दै भरौललाई ५–० को जित दिलाउन सफल भए ।

खेलको म्यान अफ द म्याच भरौलका लक्ष्मी चौधरी घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । बिहीबारको खेल मर्निङ भेट्रान्स क्लब र युनाइटेड भेट्रान्स क्लब विराटनगरबीच हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।