विराटनगर । विराटनगरमा खसी भन्दै बाख्राको मासु बिक्री वितरण गर्ने गरेको पाइएको छ । 

विराटनगर महानगरपालिकाले गरेको अनुगमनको क्रममा खसी भन्दै बाख्राको मासु बिक्री वितरण गर्ने गरेको पसल भेटिएको हो । 

विराटनगरस्थित पुरानो गुद्रीमा सञ्चालित सदाम मिट सेन्टर, अजय माछा मासु पसल, रोयल खान फ्रेस हाउस, समा फ्रेस हाउस, खान फ्रेस हाउसलगायत आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिए । ‘उपभोक्तालाई झुक्याएर बाख्राको मासु पनि बिक्री गर्ने गरेको पाइयो,’ पौडेलले भने, ‘हामीले बाख्रा र सडेगलेको कुखुराको मासु पनि जफथ गरेका छौं ।’ त्यस्तै सदाम मिट सेन्टरबाट कम तौल भएको ढक पनि अनुगमन टोलीले जफथ गरेको छ । 

कतिपय पसलले नविकरणसमेत नगरेको पाइएकाले तत्कालै नविकरण गर्न निर्देशन दिइएको पौडेलले बताए । अनुगमनमा महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, बजार निरीक्षक हरिप्रसाद गुरागाईं, नगर प्रहरीका निरीक्षक राजन पौडेल, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, महानगरका खाद्य प्राविधिक धीरज राईलगायत सहभागिता रहेको थियो । 

विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले मंगलबार माछा–मासु पसलको अनुगमन गरेको छ ।