विजयपुर । १ नं. प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता धरानमा हुने भएको छ ।

सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा प्रतियोगिता असोज ६ देखि ८ गतेसम्म हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सह–आयोजक त्रियोग ब्याडमिन्टन धरान रहेको छ ।

ब्याडमिन्टन सङ्घले पत्रकार सम्मेलन गर्दै धरान–१३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय कवर्ड हलमा प्रतियोगिता हुने जनाएको छ । सङ्घले प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको जनाएको छ ।

प्रतियोगिताका संयोजक सुरेश नियोहाङ लिम्बूले १ नं. प्रदेशका १४ वटै जिल्लाका २ सय ६ जना खेलाडीहरू तथा अफिसियलहरूको सहभागी हुने जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेल कला प्रदर्शन गर्ने सुनौलो अवसर दिने, आपसी भाइचारा बन्धुत्व र आत्मीयताको विकास गर्नु तथा खेलको माध्यमबाट खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रहेको छ ।

प्रतियोगितामा मेन्स डबल्स, वुमेन्स सिङ्गल, भेट्रान डबल्स (४५ वर्षमाथि), ब्वाइज सिङ्गल्स (१७ वर्षसम्म), मेन्स सिङ्गल्स, मिक्स डबल, भेट्रान्स डबल (५५ वर्षमाथि) हुने आयोजकले जनाएको छ ।