विजयपुर । अवैध रूपमा सञ्चालित नेटवर्किङ कम्पनी ग्लोबल ओरियन्सको नाममा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार इलाका प्रहरी कार्यालय इटहरीले नेटवर्किङ कम्पनीको नाममा ठगी गर्ने ६ जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी इटहरी खगेन्द्रबहादुर खड्काका अनुसार उनीहरू इटहरी–९ बाट पक्राउ परेका हुन् । उनीहरूले इटहरी–९ मा कार्यालय नै स्थापना गरी ठगी धन्दा चलाउँदै आएका थिए ।

पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङकी सचिता राई, सुन्दरहरैँचाका सञ्जीव माझी, पदम राई, झापा बिर्तामोडका विक्रम माझी, ग्रामथान मोरङका पङ्कजकुमार साह र कटहरी मोरङका अरुण मुरिहारी रहेका छन् । नेटवर्किङ कम्पनीको नाममा शाखा स्थापना गरी गिरोहका प्रमुख सचिता र सञ्जीव रहेको प्रहरीले जनाएको छ ।

‘दुईजना सुनसरी र मोरङको इन्चार्जको रूपमा देखिएका छन्’ डिएसपी खड्काले भने, ‘उनीहरूले सर्वसाधारणलाई जति धेरै सदस्य बनायो, त्यति धेरै पैसा कमाइन्छ, प्रमोसन हुन्छ, विदेशमा घुम्न पाइन्छ भन्दै ल्यापटप, गाडी उपहार पाउने प्रलोभन देखाएर पैसा लिने गरेका रहेछन् ।’ २ दिन जति तालिम सञ्चालन गर्ने अनि काममा पठाउने गरेका रहेछन् ।

सञ्जाल बनाएर एकले अर्को व्यक्ति तान्ने र १५ हजारदेखि १ लाख ४० हजारसम्म ठगी गर्ने गरेका थिए । उनीहरूलाई मुलुकी फौजदारी संहिता २०७४ अनुसार ठगी मुद्दामा कारबाही हुने डिएसपी खड्काले बताए । इलाका प्रहरी कार्यालय इटहरी प्रवक्ता भीमबहादुर खड्काले हालसम्म २० जनाले कार्यालयमा आफू ठगिएको भन्दै उजुरी दिएको बताएका छन् ।

२० जनाबाट १५ हजारदेखि १ लाख ४० हजारसम्म ठगी गरेको उजुरी आएको बताए । उनले भने, ‘चित्त नबुझेर जान्छु भन्दा रकम फिर्ता नगर्ने र जान पनि नदिने गरेका रहेछन् ।’ सर्वसाधारणलाई आकर्षित गर्ने विभिन्न उत्पादनहरू पनि राख्ने गरेका उनले बताए । उनले भने, ‘कानूनको परिधिमा नरही काम गर्ने गरेका रहेछन् ।’

ओरियन्सले विगतदेखि नै इटहरी, धरानलगायतका स्थानमा कार्यालय स्थापना गरी ठगी धन्दा सञ्चालन गर्दै आएका छन् । उनीहरूले विभिन्न औषधि तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेका छन् । उनीहरूले सुगर, प्रेसरलगायत विभिन्न रोगका बिरामीले खाने औषधिभन्दै विभिन्न कम्पनीका सामग्रीसमेत बिक्री गर्दै आएका छन् ।