धरान  । लुटपाटको उद्देश्यले ‘सात दिनसम्म रेकी गरी’ धरान उपमहानगरपालिका–२० की ६५ वर्षीया वृद्धाको हत्या गरिएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा मङ्गलबार पत्रकार सम्मेलन गरी मुख्य आरोपी र सहयोगी (मतियार)लाई प्रहरीले सार्वजनिक गरेको हो । लुटपाट गर्नका लागि मुख्य आरोपी धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १८ वर्षीय नकुल राईले सात दिनसम्म त्यस ठाउँको अवलोकन गरेको अनुसन्धानमा खुलेको सूचना अधिकारी डिएसपी राजकुमार राईले बताए । उनले भने, ‘सात दिनसम्म रेकी गरी लुटपाटको उद्देश्यले हत्या गरेको देखिन्छ ।’ हत्या आरोपी राईलाई प्रहरीले भारततिर भागेको अवस्थामा असोज २ गते पक्राउ गरेको हो ।

राईमाथि यसअगि पनि गाउँघरमा चोरी गर्ने आरोप लाग्दै आएको थियो । लागूऔषध दुव्र्यसनमा फसेका उनले घटना भएको दिन भदौ २९ गते शरीरमा खुकुरी लुकाएर लगी हत्यापश्चात् लुटपाट गरी भागेको अनुसन्धानमा खुलेको डिएसपी राईले जानकारी दिए ।

‘लुटपाट गर्नुपूर्व खुकुरी बोकेर गएको र सुरुमा वृद्धाको हत्या गरी लुटपाट गरेको देखिन्छ’ उनले भने, ‘त्यसपश्चात् वृद्धाको लाशलाई घरभित्रै राखी ढोका बन्द गरेर भागेको देखिन्छ ।’

हत्या र लुटपाटपश्चात् सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ का २० वर्षीय रन्जित साहसँग सहयोग लिई भारततिर भागेको प्रहरीको अनुसन्धानमा खुलेको छ । साहलाई पनि प्रहरीले सोमबार नै पक्राउ गरिसकेको छ । साह घटनामा संलग्न नभए पनि सुन लुकाउन र भारत पुर्याउनका लागि सीमा क्षेत्रसम्म गएको खुलेको छ ।

प्रहरीले पक्राउ गरेपश्चात् ७ दशमलव २ सय ७० ग्राम सुन बरामद गर्न सफल भएको छ । अन्य सामान भने बरामद गरेको छैन । हाल खोजी क्रममै रहेको प्रहरीले जनाएको छ । आरोपित राई आफूलाई सुरक्षित महसुस गर्नका लागि भारततिर भागेको भए पनि प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको हो । डिएसपी राईले भने, ‘साहको घरमा सुन लुकाई नकुललाई भारततिर पु¥याउन गएको देखिन्छ ।’

वृद्धा दुई वर्षदेखि घरमा एक्लै बस्दै आइरहेकी थिइन् । उनका चार छोरी र एक छोरा भए पनि विभिन्न स्थानमा बस्दै आइरहेका छन् । दुई वर्षअगि पतिको मृत्युपश्चात् उनी एक्लै बस्दै आइरहेकी थिइन् ।