rai


मानव जाति सम्पूर्ण प्राणीमध्येको सबैभन्दा चेतनशील र बुद्धिमान प्राणी हो । यसले विवेक प्रयोग गर्छ र सबैको हितको लागि काम गर्छ भत्रे संसारको मान्यता रहेको छ । त्यसैले जबर्जस्ती करणी कुनै पनि मानव समाजमा कल्पनाभन्दा बाहिरको कार्य हो । अपसोच र अपवादको रूपमा त्यही मानवले चाहे त्यो महिला हुन् वा पुरुष, धनी देशको हुन् वा गरिब देशका, अनि शिक्षित हुन् वा अशिक्षितले संसारमा नै चोरी, चकारी, हत्या, हिंसा, जबर्जस्ती करणीलगायतका काम गर्दै आएका नजिर प्रशस्तै छन् । त्यसमा पनि विद्युतीय उपकरणहरूको आविष्कारसँगै सामाजिक सञ्जालको अत्यधिक प्रयोगले गर्दा र तिनका सही ठाउँमा प्रयोग नहुँदाको अवस्थाले समेत समाजमा अपराधहरू जन्मिदै छन्, फस्टाउँदै छन् ।

तीमध्ये पछिल्लो समय ‘रेप’ अर्थात् जबर्जस्ती करणी प्रमुख रहेको छ । उमेर नपुगेका बालबालिकाहरूको बीचमा र उमेर पुगेका वयष्कहरूमा समेत यो समस्याले गाँजेको छ । हाल आएर नेपालमा यो समस्याले आतङ्क मच्चाएको छ । व्यक्ति, घरपरिवार, समाज अनि राज्यलाई नै यो ठूलो समस्याको विषय बनेको छ । समाजमा घटेका र प्रमाणित नजिरलाई समेत मनन् गर्दा नेपालमा जबर्जस्ती करणीलाई रोकथाम गर्नेभन्दा पनि स्वार्थसिद्धिको लागि एउटा फेसनको रूपमा समेत प्रयोग गरिँदै छ भन्ने सुन्न थालिएको छ । यो बहुत खतरापूर्ण छ ।

समयमा नै व्यक्तिदेखि सरकारसम्मले विवेकशील बनेर जबर्जस्ती करणीजस्तो घृणित कार्यलाई रोक्ने काम कठोर रूपमा गर्नैपर्छ । यसलाई षड्यन्त्रको जालो अर्थात् कमाइ गर्ने भाँडोको रूपमा प्रयोग गरियो भने व्यक्तिदेखि देशकै लागि ठूलो दुर्भाग्य हुनेछ । लामो समयदेखि महिला सशक्तीकरण, महिला अधिकार र मानव अधिकारको क्षेत्रमा काम गरेको कारण विविध तह र क्षेत्रका नेपाली समाजलाई नजिकबाट नियाल्दै काम गर्ने अवसर लेखकले प्राप्त गरेको अनुभवले समेत यो लेख पस्किएको हुँ । करिब २५ वर्षको लेखकको सामाजिक क्षेत्रको कार्य अनुभवमा धेरै राजनैतिक र सामाजिक परिवर्तन भएको पाइयो । यसै अनुभवको आधारमा यौन हिंसासँग सम्बन्धित केही प्रतिनिधिमूलक सत्य घटनाहरूलाई प्रस्तुत गरिएको छ । जसले यौन हिंसाको विविध कोण र पक्षलाई प्रस्तुत गरिएको छ भने देखेका घटना समेतलाई विवेचना गर्ने जमर्को गरिएको छ । के ठीक, के बेठीक छुट्याउने, हेर्ने, विश्लेषण गर्ने काम पाठकहरूकै हुनेछ ।

प्रसङ्ग नं. १, प्रत्यक्ष देखेअनुसार दुवै किशोर–किशोरी नाबालक हुन्छन् । उमेरमा एक–दुई वर्ष फरक थिए र दुवै प्रेममा बाँधिन्छन् । उनीहरूको जात मिल्दैन तैपनि प्रेम बस्छ, अनि शारीरिक सम्बन्ध पनि । पछि केटीपट्टिका आफन्तले छुट्याउन खोज्छन्, सक्दैनन् । पिछा गरेको बेला दुवैजना बेलुका बाहिर खेतबारीमा कतै घुमिरहेको वा बसिरहेको भेटिन्छन् । केटालाई पक्रेर प्रहरीको जिम्मा लगाइन्छ र अन्त्यमा, बलात्कारको मुद्दा दर्ता गरिन्छ । किशोरीलाई काउन्सिलिङ गरिदिनु पर्यो, मुद्दामा सहयोग गर्नुप¥यो । संस्थाले भन्ने निवेदनको आधारमा त्यो मुद्दाको सुरुदेखिको किशोर–किशोरीको सम्बन्धदेखि बुझ्दै गइन्छ । किशोरीले शारीरिक सम्पर्क भएको स्वीकार्छिन् तर, ‘जबर्जस्ती होइन, हामी प्रेम गर्छौं’ भनिन् । केटीले केटालाई जेल पठाउन रोकिदिनुस् भन्छिन् । उनलाई अपशोच छ । आमाबुबा र आफन्तको कारण प्रहरीकहाँ पुर्याइयो । कानूनअनुसार यो कुरा बलात्कार हो भन्ने उनीहरू दुवैलाई थाहा थिएन । तर, अझै केटी चाहन्छिन् केटालाई जेल नपठाइयोस् । किनकि उनलाई माया छ । उसलाई थाहा छैन कि बलात्कार भनेर उजुरी लगाउनु कति गहन विषय हो भनेर ।

केश नं. २, एक विवाहित महिला जो आफू विवाहित पुरुषसँग नै विवाह गरेकी बताउँदै आफू कहिले यौनसम्बन्ध नराखेको एक भर्जिन युवा केटासँग शारीरिक सम्पर्क गर्न चाहन्छिन् र उनलाई भर्जिन पुरुषसँग सम्पर्क गर्ने चाहना भएको कारण एक जना युवकलाई साथी बनाएर केटालाई फकाई फुल्याई वशमा पारेर उनले आफ्नो इच्छा पूरा गरिन् र केटालाई छाडिन् वा आ–आफ्नो बाटो लाग्छन् । ती महिलाले आफ्नो इच्छा पूरा गरिन् । खुसीयाली, रमाइलो साथीलाई शेयर गरिन् । त्यो केटाले खै के सोच्यो । आफ्नो भर्जिनिटी लुटिएको सोच्यो कि आफूले महिलाको इज्जत लुटेको सोच्यो ? त्यो थाहा भएन । पक्कै भन्न सकिन्छ कि ती महिलाले त्यो केटाको इज्जत, यौनिकता र पुरुषत्वको कुमारपन सबैथोक लुटिन् । किनकि त्यहाँ माया होइन स्वार्थ छ । यो विषयमा हाम्रो समाज अनभिज्ञ छ वा चासो छैन । मन त सबैको हो, चित्त त सबैको दुख्छ । शारीरिक रूपमा नभए पनि मानसिक रूपमा ती व्यक्ति बलात्कारमा परेको देखिन्छ ।

केश नं. ३, एक एकल एक सन्तानकी आमाले फोन गरिन् र भनिन् । मेरो लागि बोलिदिनु प¥यो । म थानामा छु । इलाका प्रहरी कार्यालयमा छु । हिजो अस्ति सकुशल देखेको व्यक्तिलाई के भएछ अचम्म मान्दै के भयो भनी अचम्म मान्दै सोधेँ । एउटा केटोले मेरो इज्जत लुट्यो, बलात्कार गरेर छाड्यो । आज प्रहरीकहाँ ऊ मसँग कुरा गर्न आउँदैछ । सबै सुनेँ, बुझेँ, उनको कुरा सुनेँ सुनेँ तर, सहयोग गर्न सकिएन । उनी एक्लै बस्थिन् । फेसबुकमा एकजना पुरुषसँग चिनजान भयो । केही दिन वा महिनापछि बिहे गर्ने सल्लाह भयो । पुरुष महिलालाई भेट्न र बिहे गर्न आयो । आमा–छोरी बस्थे । फोनमा कुरा भएअनुसार केटीकै कोठामा करिब ३–४ दिन केटा बस्यो । बिहे गर्ने हो भनेर सबैकुरा सहज ढङ्गमा स्वीकार गरियो । केटा चार दिनपछि घर पुगेर आउँछु भनेर हिँड्यो । फर्केर आएन । त्यसपछि प्रहरीमा पुगेर उनले उजुरी दिइन् । मेरो श्रीमान् हरायो बोलाई पाऊँ भनेर । फोन नम्बरमा सम्पर्क भयो । ऊ आयो । कुरा मिलेन । केटीले पाँच लाख पैसा दिनुपर्ने माग राखेकी रहिछन्, नत्र जबरजस्ती करणीमा मुद्दा हाल्छु भन्दिरहिछन् । अन्त्यमा केटाले पाँच लाख दिने बताएर तत्काल एक लाख दिएर मेलमिलापको कागज गरी मिलापत्र गरी बाटो लागेछ । अब अधिकारकर्मीहरूले के भन्ने ? के सुझाव दिने ? त्यसैले मानव अधिकारकर्मीहरू बोल्नै नसक्ने अवस्था बन्यो ।

केश नं. ४, एक १५ वर्षीया किशोरीलाई २ अर्धवैंशे पुरुषहरूले दिनको १२–१ बजेतिर चोकमा चिसो खान बोलाउँछन् । चिनजानको नाताले ती किशोरी खाजा खान रेष्टुरेन्ट पुग्छिन् । त्यहाँबाट अर्को होटलमा खाजा खान जाऊँ भन्दै अर्कै गेष्टहाउस पु¥याउँछन् । भित्र कोठामा नै बसेर खाने भन्दै चिसोमा मादक पदार्थ मिलाएर खाजा खाँदै राति १२–१ बजेसम्म बन्दी बनाई बलात्कार गर्छन् । अनि घर जान सफारी चढ्ने पैसासमेत नदिई हिँड्छन् । केटी एक्लै भौंतारिँदै मानसिक रूपमा विक्षिप्त बनेर टोलाउँदै घर पुग्छिन् । जहाँ छोरीको खुब खोजी भइरहेको थियो । कहाँ गएकी भनी उनले अभिभावकको गाली खाई, कुटाइ पनि खाई । धेरै टोलाएपछि पक्कै अरू नै केही भयो कि भनी फकाएर केरकार गर्दा थाहा भयो, उनीमाथि अन्याय भएछ । यो कुरा एक कान, दुई कान हुँदै सम्बन्धित बलात्कारीहरू समक्ष पुग्यो ।

तत्काल उनीहरूले आफन्त र प्रहरीलाई पैसाले किन्ने प्रयास गरे । घटना साम्य पार्न खोजियो र ठूलो धनराशि दिएको पनि थाहा भयो । तर, मिडियामा आएको साथै थुप्रै अधिकारकर्मीको खबरदारीको कारण मुद्दा दर्ता भयो र बलात्कारीहरू माथि सजाय भयो ।

बलात्कार के हो त ? कस्तो अवस्थालाई बलात्कार भन्ने त ? यस्ता सवालमा नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार, ‘कसैले कुनै पनि महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।’

साथै (करकाप, अनुचित प्रभाव, डर, त्रासमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन र होस ठेगानमा नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन भनी उल्लेख गरेको छ । यही कानूनको आधारमा रहेर बलात्कारसम्बन्धी मुद्दाको विश्लेषण गर्न सकिन्छ । त्यसैले यी प्रतिनिधि घटनासहित नेपालमा घटेका चर्चित बलात्कारका घटनाहरूको समेत स्मरण होस् । जस्तो निर्मला पन्त बलात्कार हत्याकाण्ड, पल शाहको केश, कृष्णबहादुर महराको केश, सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको केश र पछिल्लो सन्दीप लामिछानेको केशलगायत थुप्रै गुमनाम बलात्कार तथा यौन हिंसाजन्य केशहरू जसलाई समाजले चासोका साथ हेरिरहेको छ ।

सिधै भन्नु पर्दा नाबालिकासँग यौन सम्बन्ध राख्नु बलात्कार नै हुन्छ । पेशागत अधिकार नागरिकलाई समान हुन्छ । लैङ्गिक, धार्मिक, जातीय र सांस्कृतिक भेदभाव दण्डनीय अपराध हुन् भन्ने सवालमा हाम्रो कानून स्पष्ट छ । के त्यसलाई मैले बुझेको थिइनँ, जानकारी थिएन भन्ने छुट छ त ? सबै शारीरिक सम्बन्ध बलात्कार नै हुँदैन होला र कुनै शारीरिक सम्बन्ध स्वतः बलात्कार हुनेछ । यदि बलात्कार ग¥यो कसैले भन्छ भने लेनदेनमा त्यो कुरा किन मिल्न खोज्छ ? वा मिलाउन खोजिन्छ ? त्यहाँ गम्भीर प्रश्न छ । पीडित भन्ने पक्ष नै किन आफ्नो बयान परिवर्तन गर्छ ? केशको गाम्भीर्यतालाई कसैले बुझेको देखिँदैन । जसले गर्दा वास्तविक पीडितहरूको न्यायमा असर परिरहेको हुन्छ । पीडाको मर्मलाई नक्कली सामानको सस्तो बजारको मूल्य झैं बनाइएको छ ।

अर्कोतिर मानव हकअधिकारको नाममा २०४८ सालपछि थुप्रै एनजिओ, आइएनजिओहरूले विकासे कार्यक्रम सञ्चालन गरे र गर्दै आइरहेका छन् । थुप्रै डलर यसको नाममा खर्चिएका छन् प्रष्ट छ । तर, नागरिकमा त्यो खालको चेतना फैलाउने संयन्त्रको कहाँ ग्याप भयो ? हामी कस्तो खालको समाज हुर्काउँदैछौं ? यो विषयमा बृहत् छलफल र आगामी रणनैतिक कार्यक्रम बनाउन आवश्यक देखिन्छ । नैतिकता, अनुशासन, सदाचार भाइचारा, आत्मसम्मान, राष्ट्र र राष्ट्रियताको सवालमा हाम्रो शिक्षा प्रणाली नै कमजोर देखिएको हो कि ? कानून बनाएर मात्र भएन, कानूनी साक्षरता पनि आवश्यक छ । के महत्वपूर्ण कानूनी प्रावधानहरू हाम्रो प्राथमिक तहको शिक्षा प्रणालीमा समेटिएका छन् त ? यो पक्षतिर पनि सरकारको ध्यान जान जरुरी छ ।

अर्को शब्दमा भत्रुपर्दा शिक्षाभित्रको नैतिक शिक्षा, यौनशिक्षा, मनोपरामर्श कार्यान्वयन हुने मात्र कानूनी व्यवस्था तथा नागरिकको लागि मरिमेट्ने प्रहरीसमेतको सहकार्यबाट समाजका यौन दुव्र्यवहार, बलात्कारलगायतका विकृतिलाई रोकथाम गर्नुपर्छ भने समाजमा मौलाएको एनजिओहरूले यसरी फैलिएका विकृतिहरूको धेरैजसो रिपोर्ट मात्र तयार गर्ने नभई बलात्कारलगायतका सामाजिक विकृतिलाई रोकथाम गर्न ढिलो भइसकेको छ ।

अन्त्यमा, आजको जमानामा अभिभावक भनेको आमसञ्चार हो । तसर्थ, नेपाली आमसञ्चारजगत्ले बलात्कारलगायतका विकृतिविरुद्ध आवाज उठाउन र कसैको मानमर्दन नहुने गरी पीडितलाई न्याय दिने काममा अग्रसर हुनु नितान्त आवश्यक रहेको टड्कारै छ । एक सबैको लागि र सबै एकको लागि भएर काम गरेमा हरेक काम गर्न सम्भव छ ।
(लेखक राईः लामो समयदेखि महिला मानवअधिकारको क्षेत्रमा काम गर्दै आएकी अधिवक्तासमेत हुन् ।)