–आत्महत्या गर्ने २५ देखि ३० वर्ष उमेर समूहका बढी
–प्रदेश १ मा दैनिक ४ जनाले गर्छन आत्महत्या
विराटनगर । प्रहरीको तथ्याङ हेर्ने हो भने प्रदेश १ मा आत्महत्या गर्नेको संख्या डरलाग्दो रहेको छ । प्रदेशमा दैनिक ४ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले शुक्रबार सार्वजानिक गरेको पाँच वर्षको तथ्यांक केलाउँदा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । पाँच वर्षमा प्रदेश १ मा ६ हजार ७ सय ३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले सार्वजानिक गरेको तथ्याङकमा देखिन्छ ।
आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ सम्ममा ३ हजार ८ सय ९७ जना पुरुष, २ हजार १ सय ५९ जना महिला, ३ सय जना बालक र ३ सय ४७ जना बालिका गरी पाँच वर्षमा ६ हजार ७ सय ३ जनाले आत्महत्या गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । यो तथ्यांकलाई केलाउने हो भने पाँच वर्षमा दैनिक आत्महत्या गर्नेको संख्या प्रदेश १ मा ४ जना आउने गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार २०७४/०७५ मा १ हजार १ सय २० जना, २०७५/०७६ मा १ हजार २ सय ३४, ०७६/०७७ मा १ हजार ३ सय ४४, ०७७/०७८ मा १ हजार ५ सय १६ जना, ०७८/०७९ मा १ हजार ४ सय ८९ जनाले आत्महत्या गरेका गरेका छन् ।
गएको आबमा आत्महत्याको संख्यामा सामान्य कमी आए पनि त्यसअघिका चार वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्षमा ०७८/०७९ मा देशभरीमा सबैभन्दा बढी आत्महत्या प्रदेश १ मा १ हजार ४ सय ८९ र कम कर्णाली प्रदेशमा २९० जना रहेका छन् । आत्महत्या गर्ने सबैधन्दा बढी युवा उमेरका रहेका छन् । आर्थिक वर्षमा १ हजार ४ सय ८९ जनाले आत्महत्या गरेका मध्ये प्रदेश १ मा २५ देखि ३० वर्ष उमेर समूहका बढी रहेका छन् । सो उमेर समूहका २ सय ९२ जनाले आत्महत्या गरेका छन् । यस्तै १८ देखि २४ वर्ष उमेर समूहका २ सय ८८, १८ वर्ष मुनीका बालवाकिलाहरुले १ सय ३२ र ६० वर्ष उमेर समूहभन्दा माथिका ६८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।
आर्थिक वर्षमा प्रदेश १ को सबैभन्दा बढी आत्महत्या गर्ने जिल्ला झापा रहेको छ । सबैभन्दा बढी झापामा ३ सय ३४ र कम तेह्रथुम जिल्लामा अत्महत्या भएको प्रहरीको अभिलेखमा देखिन्छ । तेह्रथमुमा आर्थिक वर्षमा २३ जनाले मात्र आत्महत्या गरेका छन् । झापापछि दोस्रोमा मोरङमा आत्महत्या बढी भएको छ । मोरङमा ३ सय १४, सुनसरीमा २०३, इलामा १२८, उदयपुर ८४, धनकुटा ४९, पाँचथर ५७, ताप्लजुङ्ग ३५, संखुवासभा ४४, भोजपुरमा ५१, खोटाङमा ६७, ओखलढुङमा ५४ र सोलुखुम्बुमा ४७ जनाले आत्महत्या गरेका छन् ।
घटनाको सुक्ष्म अध्ययन गरेको प्रहरीले सामान्य परिवारका किशोर–किशोरी र युवाले आत्महत्याको बाटो रोजेको देखाउँछ । आत्महत्या असफलता, बेरोजगार, गरिबी, नकात्मक सोच, लागूऔषध दुव्र्यसन, अत्याधिक मदिरा सेवन, मानसिक रोगी, पारिवारिक बेमेल, असफल प्रेम, परपुरुष/महिलाबीच विवाहेत्तर सम्बन्धलगायत कारणबाट सिर्जित समस्या अविश्वास, प्रतिशोध र निराशा अनि आवेगमा बद्लिँदा मानिसले आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्ने गरेको डिआइजी गिरीले बताए । यस्तै डिप्रेसन, कडा खाले मनोरोग, अवैध गर्भ धारण, छुवाछुत, सामाजिक संजालको दुरुपयोग, कम गुणस्तरको जिवन शैली, अभिभावकले बालवाकिलालाई उचित समय नदिनु र अन्य कारणले पनि आत्महत्या हुने गरेको छ ।
मनोचिकित्सक डा. प्रभात चौरसियाले आत्महत्यालाई मेडिकल इमरजेन्सीको अवस्था हो भन्दै खुलेर सोधखोज र प्रश्न गर्ने बानीको विकास गर्नुपर्ने उपाय सुझाउँछन् । सबै वर्ग, तह, समुदाय, लिङ्ग र उमेर समूहका मानिसहरूले आत्महत्या गर्ने क्रम बढ्दो पाइएकोले सबै सरोकारवाला मिलेर रोकथामका लागि सामूहिक पहल थाल्नुपर्ने उनको सुझाव छ । ‘आत्महत्याको मूल कारण त मानसिक समस्या नै हो,’ उनी भन्छन्, ‘परिवार, नातागोता तथा साथीभाइ÷चिनेजानेका बीच जति पनि आपसी कलह/बेमेल, मनमुटाव, आर्थिक अभाव, बेरोजगारी, व्यवसायमा नोक्सानी, अविश्वासजस्ता समस्या देखिन्छन्, त्यसबाट निम्तिने मानसिक समस्या नै हो, त्यसबाटै मानिसमा प्रतिशोध, आवेग, उत्तेजना हुँदै दिमागमा योजनाबद्धरुपमा आपराधिक सोचको विकास हुने हो, हत्या र आत्महत्याका घटना पनि यसकै परिणाम हो ।’