बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा उम्मेद्वार बन्ने झापाको क्षेत्र नम्बर–१ मा यस पटक मुख्यतया नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । शर्मासँग नेकपा एमालेबाट उम्मेद्वार बन्नका लागि दावेदार रविन कोइरालाको भिडन्त हुने लगभग पक्का छ ।
शर्मा र कोइरालाबीच यो दोस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि दोस्रो संविधानसभा निर्वाचन २०७० मा शर्मा र कोइरालाबीच प्रतिष्पर्धा भएको थियो । जसमा कोइरालाले बाजी मारेका थिए । कोइरालाले शर्मालाई ६८९ मतले पराजित गरेका थिए । स्थानीय राजनीतिका चतुर खेलाडी कोईराला नेकपा एमालेको तर्फबाट फेरी झापाको क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्ने तयारीमा छन् । यसपटकको निर्वाचनमा शर्माले २०७० मा भोगेको पराजयको बदला लिन्छन् कि फेरी पराजित हुन्छन् त्यसको लागि भने निर्वाचनको परिणाम पर्खिनै पर्छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा वामगठबन्धनका सुरेन्द्र कार्कीसँग पराजित भए । कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३१० मत मात्र ल्याए । कार्कीले २ हजार ८६३ मत अन्तरले शर्मालाई हराए ।
बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम शर्माको लागि त्यति सकारात्मक छैन । निर्वाचनमा नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर १ मा पर्ने स्थानीय तहमा सन्तोषजनक मत ल्याउन सकेन । नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको कांग्रेसको मेयरका उम्मेद्वार इन्द्र बुढाथोकी नेकपा एमालेका मेयरको उम्मेद्वार गोपाल बुढाथोकीको भन्दा ५ हजार १६७ मतले पराजित भए ।
बिधान अनुसार नेपाली कांग्रेसबाट नगर प्रमुख, उपप्रमुखको उम्मेद्वार छनौट पार्टीको प्रदेश कमिटीले गर्छ । प्रदेश कमिटीले पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेलाई मेचीनगर नगरपालिकामा मेयरको उम्मेद्वार बनाएको थियो । उम्मेद्वारी दर्ताको दिन महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा इन्द्र बुढाथोकीलाई उम्मेद्वार बनाए । उम्मेद्वारी मनोनयनका क्रममा सो समयमा हातपातका घटना समेत भएको थियो । पछि उपसभापति पाण्डेले उम्मेद्वारी दर्ता नगर्ने घोषणा गरे । त्यसकै असर स्थानीय तहको निर्वाचनमा प¥यो । मेचीनगरमा निर्णायक मत रहेको माओवादीसँग गठबन्धन गरेपनि कांग्रेसका उम्मेद्वार ठुलो मत अन्तरले पराजित भए ।
स्थानीय तहको मतको असर आगामी प्रतिनिधिसभाको निर्वाचनमा पनि देखिने कांग्रेस वृतमा चर्चा छ । कांग्रेसमा प्रभावशाली छवि बनाएका उपसभापति पाण्डेको भूमिकाले परिणाममा समेत असर पर्न सक्ने गरी देखिने बताइन्छ । शर्माले आफ्नो क्षेत्र सुरक्षित गर्न स्थानीय तहको निर्वाचनमा तटस्थ भूमिका खेलेको भए आगामी निर्वाचनमा बिजयको लागि सहज हुने अवस्था आउन सक्थ्यो ।
झापाको क्षेत्र नम्बर १ मा बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडाहरु पर्छन् । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतपनि एमालेको लागि सकारात्मक भएको देखिन्छ । कुल २१ वटा वडा रहेको यस क्षेत्रमा नेकपा एमालेले ३१ हजार २५२ मत ल्याएको छ । कांग्रेसले मत २४ हजार ५९ मात्र ल्याएको छ । माओवादीले ३ हजार ९०५, एकजना स्वतन्त्र उम्मेद्वारले १ हजार ५४ र राप्रपाले ५ हजार ८०१ मत हासिल गरेका छन् । स्वतन्त्र र राप्रपा छोडेर गठबन्धनको मत जोड्ने हो भनेपनि २ हजार ५०२ मतले एमाले अघि रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
कुल २१ वडा रहेको यस क्षेत्रमा एमाले एक्लैले यहाँ १४ वटा वडा जितेको छ । यहाँ गठबन्धन गरेका कांग्रेसले ६ र माओवादी केन्द्रले एउटा वडामा जित हासिल गरेका छन् । बुद्धशान्ति गाउँपालिकामा अध्यक्ष कांग्रेसको निर्वाचित भएपनि उपाध्यक्ष तथा बहुमत कार्यपालिका सदस्य एमालेले जितेको छ । मेची नगर नगरपालिकामा कांग्रेस झन कमजोर छ । यहाँ मेयर, उप–मेयर तथा ११ वटा वडाध्यक्ष एमालले जितेको छ । माओवादीले एउटा मात्र वडाको परिणाम हात पारेको छ ।
कतिपय राजनीतिक बिश्लेषकले शर्माको लोकप्रियताका कारण उनले निर्वाचनमा जित हासिल गर्नसक्ने दावी गरेका छन् । तर, चलाख राजनीतिज्ञ कोइराला उनका लागि भारी पर्नसक्ने सम्भावना अझै छ । कोइराला नेकपा बिभाजनका बेला माधब नेपाल–प्रचण्ड खेमामा लागेका थिए । एमाले बिभाजन हुँदा भने उनले एमाले नै रोजे । एमालेको स्थानीय तहमा रहेको लोकप्रियताका कारण उनी एमालेमै रहेको बुझिएको छ । नेपाली कांग्रेसभित्रको किचलोले उनलाई निर्वाचन जित्न अझ सहज हुने देखिन्छ ।
नेपाली कांग्रेसमा पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला र शर्माबीच पानी बाराबारको स्थिती छ । १० औं बर्षदेखि दुबैले एक अर्काको अस्तित्व स्विकार गर्न सकेका छैनन् । यसैबर्ष सम्पन्न नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेसनमा सिटौला समुहले शर्मा समुहलाई झापामा ‘क्लिन स्विप’ गरेको थियो । सिटौला र शर्माबीचको दुईबीचको तिक्ततापुर्ण सम्बन्धका कारण पनि नेपाली कांग्रेसले हरेका निर्वाचनमा क्षति ब्यहोर्नु परेको छ ।