म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटका युवाको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर बाटो मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो ।
वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिए। अविरल वर्षात्सँगै आएको पहिराले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो ।
उनका अनुसार क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ । क्लबमा आवद्ध युवासहित सामाजिक अगुवाले समेत श्रमदान गरेका हुन् । सडक अवरुद्ध हुँदा वडा कार्यालय र स्वास्थ्यचौकीमा सेवा लिन आउने सेवाग्राहीसहित ढुवानीमा समेत समस्या भएको थियो ।
पहिरो पन्छ्यएर सडक मर्मत गरेपछि स्थानीयवासी, बटुवा, विद्यार्थीलगायत सर्वसाधारणलाई सहज भएको छ ।