धरान । गीता भवन धरानले सधैँका वर्ष झैँ यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी र रथयात्रा भव्यरूपमा गर्ने तयारी गरेको छ ।

आइतबार गीता भवनमा पत्रकार सम्मेलन गरी भदौ ३ गते पर्ने जन्माष्टमीका दिन विविध कार्यक्रमसहित भदौ ४ गते रथयात्रा निकालिने भएको छ ।

रथयात्रा कार्यक्रमका संयोजक जीवन अग्रवालका अनुसार जन्माष्टमीका दिन कृष्ण झुलनोत्सव, श्रीकृष्ण महाभिषेक विशेष पूजा, श्रीकृष्ण कथामृत प्रवचन र मध्यरातमा आरती हुनेछ ।

त्यस्तै भदौ ४ गतेका दिन गीता भवनबाट रथयात्रा निकाल्दै लक्ष्मी चोक, रेडक्रस चोक हुँदै पुरानो बजार, देशीलाइन, भानुचौक र पुनः गीता मन्दिरमा आई रथयात्रा टुङ्गिने कार्यालय सचिव श्याम चापागाईंले जानकारी दिए । दुई दिनसम्म विशेष कार्यक्रम हुने जनाइएको छ ।