विश्व मानव समुदायमा चारवटा पक्षको धेरै समर्थन, विरोध, आलोचना, खिसिट्युरी, व्यङ्ग्य र मानमर्दन हुने गर्दछ, ती हुन्– राजनीति, मदिरा, महिला र कथित तल्लो जात वर्ग भनिएका श्रमिक वर्गको । तर, राजनीति एक दिन गतिशील भएन भने विश्वमा सन्नाटा आउँछ, अन्यौलता आउँछ । गुणस्तरीय वा कमसल मदिरालाई विश्व बजारबाट हटाइदिने हो भने विश्वको आधा व्यापार बन्द हुन्छ । उच्च घराना वा निम्न वर्ग वा जात भनिएका श्रमजीवी वर्गले निर्माण र उत्पादनमा श्रम नगरिदिने हो भने विश्वको अर्थतन्त्र उत्पादन नै बन्द हुन्छ ।

यी सबै पक्षको नियमन, नियन्त्रण, व्यवस्थापन र सञ्चालन गर्ने माउ नीति राजनीति नै हो र राजनीति कुनै मुलुकहरूमा धार्मिक दर्शन र मूल्य मान्यताबाट निर्देशित होला भने कतै लोकल्याणकारी राज्य व्यवस्थाको सिद्धान्त र विचारधाराद्वारा निर्देशित होला । राजनीतिक दर्शन र  सिद्धान्तबाट निर्देशित पनि हुन सक्छन् । जुन दर्शन र  विचारबाट राजनीति निर्देशित हुन्छ, त्यसको चरित्र वर्ग पक्षधरता कुनै पनि घटना, परिघटना र वर्ग, लिङ्ग, वस्तुलाई हेर्ने बुझ्ने दृष्टिकोण पनि फरक– फरक हुन्छन् । आध्यात्मिकवादी दर्शनबाट निर्देशित राजनीतिले चलन परम्परालाई मानव समुदायलाई दमन शोषण उत्पीडन नै भए पनि यसलाई बदल्न फेर्न हुँदैन भन्लान् र भन्छन् । उनीहरूको पक्षधरता पनि कथित उच्च जाति पुँजीपति वर्गको पक्षमा नै हुने गर्दछ । पुँजीवादी लोक कल्याणकारी राजनीतिक विचाराधाराबाट निर्देशित राजनीतिले वर्गीयरूपमा पुँजीपति वर्ग र मध्यम् वर्गकै पक्षधर लिए तापनि लोकतन्त्र, मानवअधिकार, वर्गीय उत्थान, कथित तल्लो भनिएका जाति, समुदाय र महिला अधिकारका बारेमा आदर्शवादी कुरा गर्न उनीहरू माहिर हुन्छन् तर, उनीहरू व्यवहारमा लागू गर्दैनन् । उनीहरूको उत्पीडित जाति, समुदाय, वर्ग, लिङ्ग, शिक्षा कला, साहित्य, संस्कृति, श्रमलाई हेर्ने बुभ्mने दृष्टिकोण पनि स्पष्ट हुँदैन ।

माक्र्सवादी राजनीतिक दर्शनको धरातलमा टेकेर समाजवादी विचारधाराद्वारा निर्देशित राजनीतिले मात्र वर्ग र वर्गशत्रुको किटान गर्दछ । यो राजनीतिक विचार धाराले मात्र श्रमजीवी वर्ग, उत्पीडित जाति, समुदाय र लिङ्गको पक्ष लिन्छ । मानवले मानवमाथि गरिने सबैखाले विभेद अन्याय, अत्याचार, शोषण, दमन, धर्म, परम्परा, संस्कार र संस्कृतिबाट हुने विभेद र शोषणको प्राकृतिक नियम र विज्ञान सम्मत रूपमा यसको मुक्ति र समाधान गर्ने समर्थन, समाजवादी राजनीतिक विचारधाराले नै गर्दछ । मानवको आचरण व्यवहार र चरित्र निर्माणका लागि शिक्षा भाषा, साहित्य, कला र संस्कृति कस्तो हुनुपर्दछ भन्ने वैज्ञानिक र स्पष्ट दृष्टिकोण पनि यही विचारधाराले राख्दछ । जसलाई हामी कम्युनिष्ट राजनीतिक विचारधारा र संस्कृति भन्दछौं ।

आजभोलि हाम्रो समाजमा धेरै आदर्शवादी बौद्धिक विलास गर्ने स्वतन्त्र हौं भन्ने भूइँफुट्टा राजनीति गर्नेहरूले पुराना परम्परागत राजनीतिक दलहरूले केही गरेनन्, राजनीतिक दलहरूको विकल्पमा कथित स्वतन्त्र व्यक्ति र शक्तिमा राज्यसत्ता सञ्चालन गर्न दिएमा जादुको छडी नै चलाए झैं राष्ट्रको अवस्था परिवर्तन गर्दछौं भनेर स्यालको हुइयाँ नै चलाइरहेका छन् र मान्छेलाई भ्रम पनि पार्न सफल भइरहेका छन् । यो कुनै राजनीतिक दर्शन र विचारमा आधारित वा कुनै अध्ययन अनुसन्धानबाट निकालिएको निष्कर्ष पनि होइन । यो त एउटा लहडबाजी कुरा हो । यस्ता लहडबाजी कुराले केही समयसम्म मानिसलाई भ्रममा राख्न सक्छ र पछि विलोप हुँदै जान्छ । यस्तो बेधारे भूईंफुट्टा राजनीति गर्ने भँडुवा आदर्शवादीहरूले यस्तो पनि भ्रम पारेका छन् कि समाज, शिक्षा, स्वास्थ्य, धर्म, परम्परा, संस्कार, संस्कृति, कला, साहित्य केहीमा राजनीतिक विचार र सिद्धान्त मिसाउनु हुँदैन अर्थात् राजनीतिकरण गरिनै हुँदैन । यो एउटा वर्ग समन्वयवादी आदर्शवादीहरूले छरेको भ्रम मात्र हो ।

सबै नीतिको माउ नीति राजनीति नै भएको हुँदा राज्य व्यवस्थाको विचारधारा र चरित्र जस्तो हुन्छ, त्यो राष्ट्रको शिक्षा, स्वास्थ्य र समाजको चरित्र पनि त्यस्तै मात्र निर्देशन गर्दछ । राज्य व्यवस्थाको मूल विचारधाराअनुसार त्यसका सहायक अङ्गहरूलाई निर्देश र परिचालन गर्न सकिएन भने राजनीतिक व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन हुँदैन ।  पुरानो परम्परागत रुढीवाद, विश्वास र चिन्तनमा लामो समयसम्म हुर्किएर आएका मानिसको चिन्तनमा परिवर्तन आउँदैन । उनीहरूमा त्यही पुरानै व्यवहार, चिन्तन, अहङ्कार हाबी भइरहन्छ । मानवको चरित्र, चिन्तन, व्यवहार र परिर्वतन गराउने कुरा भने तयति सजिलो छैन ।

यसलाई दुईवटा क्रान्ति आन्दोलनको बल प्रयोगबाट दोस्रो शिक्षा सचेतनाबाट २००७ सालदेखि २०६२/०६३ सालसम्म भएका क्रान्ति दश वर्षे जनयुद्ध हुँदै २०६२/०६३ को जनअन्दोलनसम्म आइपुग्दा राजनीतिक रूपमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा स्थापित हुँदा युद्ध क्रान्ति र आन्दोलनको रापतापको बेला श्रमजीवीवर्ग, जातीय छुवाछुत, क्षेत्रीय, वर्गीय र लिङ्गीय विभेद र उत्पीडनको बारेमा हेर्ने, बुझ्ने र गर्ने व्यवहारमा बलजफ्ती परिवर्तन पनि आयो ।

युद्ध क्रान्ति र आन्दोलनले ल्याएको परिवर्तनलाई वैधानिक र संस्थागत गर्न नै कुनै पनि धर्म, जात, वर्ग, लिङ्ग, क्षेत्र र उत्पत्तिका आधारमा विभेद गर्न पाइने छैन । यदि यसो भयो भने कानूनी रूपमा दण्डनीय हुनेछ भनेर हामीले संविधानमा व्यवस्था गरेर ऐन, निमय, कानून निर्माण ग¥यौँ । अल्पसङ्ख्यक र जातीय, क्षेत्रीय, वर्गीय रूपमा पछाडि परेका समुदायलाई समावेशी र समानुपातिक सिद्धान्तको अवधारणा अनुसार राज्य निकायमा सहभागी गराउने व्यवस्था गर्यौँ ।

गणतन्त्रको स्थापनापछि नै छुवाछुतमुक्त राष्ट्रको घोषणा भयो तर, पनि हाम्रो चिन्तन र व्यवहारमा जातीय छुवाछुत महिलाहरूमाथि हुने लिङ्गीय विभेद मधेशमा बस्ने मधेशीलाई कालो छाला देख्दैमा फरक भेषभूषा र भाषा हुँदैमा उनीहरूलाई मधेशीमूलको नेपाली नबुझ्ने क्षेत्रीय विभेदकारी दृष्टिकोणमा किन परिवर्तन आएन ? अहिले विभिन्न घटना परिघटनाका विषयहरूलाई लिएर विद्युतीय सामाजिक सञ्जालहरूमा किन भइरहेका छन् । जातीय अवहेलनाका गाली गलौजहरू किन विवादमा पर्ने गर्दछन् । लेखक, कलाकार, सर्जकका सिर्जनाहरू, किन बढ्दैछन् धार्मिक विवाद र अतिवादहरू ? यी विषयहरूमा गहन अध्ययन र विश्लेषण हुन जरुरी छ । यी सबै हुनुमा यी विषयवस्तुलाई सही र अग्रगामी राजनीतिक विचारधाराले निर्देशन नगर्नु नै हो । अर्थात हाम्रो क्रान्ति युद्ध र जनआन्दोलनले स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको मर्म, भावना र चरित्रअनुसार लोकतान्त्रिक संस्कार र निर्माण नहुनु नै हो ।

सही राजनीतिक विचारधाराद्वारा निर्देशित नभएको राजनीतिक व्यवस्था र चरित्र अनुसार निर्माण र सिर्जना नभएको कला,  साहित्य, संस्कृति, पुँजीवादी उपभोक्तावादी छाडा संस्कृतिहरू यसले बजारमा राम्रो व्यापार गर्न सक्छ । विचार चिन्तनको धरातल कमजोर भएका जमातलाई रोमाञ्चित मनोरञ्जन पनि दिन सक्छ । यस्तो सिर्जना र संस्कृतिले भाबी पीडितलाई कता डो¥याउँछ । समाजमा कस्तो प्रभाव पार्छ ? जाति, वर्ग र समुदायमा कस्तो असर पार्छ भन्नेतर्फ ध्यान दिँदैनन् र उनीहरूको चिन्तनअनुसार यो ध्यान दिइरहनु पर्ने विषय पनि होइन । हिजो यो परिवर्तनको विरुद्धमा रहेका र यो परिवर्तन ल्याउन दुःख नगरेकाहरूलाई यस कुरासँग सरोकार पनि छैन ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएपछि के कस्ता ऐन कानून बने, त्यतातिर उनीहरूलाई हेक्का पनि छैन । हेक्का भए तापनि उनीहरू महिलालाई किन यत्रो अधिकार, दलितलाई किन यत्रो सुविधा, मधेशीलाई किन आरक्षण, बालबालिकाहरूलाई किन बजेटजस्ता पश्चगामी कुरा गरिरहेका छन् । यस्तै चिन्तन राख्नेहरूबाट जातीय सद्भाव सामाजिक सद्भाव खल्बल्याउने खालका जातीय र अवहेलनाका गाली गलौजहरू सामाजिक सञ्जालमा आएका हुन् । हुन त मान्छेले लगाउने भेषभुषा र बोल्ने भाषाशैलीले उसको गुण र चेतनास्तरको पनि निर्धारण गर्दछ । अहिले यिनीहरूलाई बल प्रयोग गरे नियन्त्रण गर्नसक्ने पनि अहिले सम्भावना छैन ।

अब लोकतान्त्रिक संस्कृति निर्माणको लागि लोकतान्त्रिक गणतन्त्रको मर्म, भावना र राजनीतिक विचारधाराअनुसार शिक्षाको चरित्र निर्माण गर्न हाम्रो विद्यालय तहमै राजनीतिक दर्शनका बारेमा आधारभूत अध्ययन हुन जरुरी छ । हाम्रा कला, साहित्य र सिर्जनाहरूमा श्रमजीवी मजदुर वर्ग, महिलालाई विभेद र अवहेलना गर्ने, कथित दलित समुदायलाई हिजोका जाली फटाहा, शोषक, सामन्त, उच्च जातीय अहङ्कारवादीहरूले प्रयोग गर्ने उखान, टुक्का विभेद र अवहेलना गर्ने खालका शब्द र भाषाशैली प्रयोग गरेर साहित्य, कला, सिर्जना गर्ने उनीहरूको जीवनशैलीलाई अपमान गर्ने साहित्य संस्कृतिले लोकतान्त्रिक संस्कृतिको निर्माण हुँदैन । लोकतान्त्रिक संस्कृतिको निर्माण विना सभ्य र सुसंस्कृत समाजको निर्माण हुँदैन ।