धरान । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाटै चुनाव लड्ने चाहना रहेको बताएका छन् ।

मङ्गलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रका मतदाताले आफूलाई दोस्रो स्थानमा राखेकाले अहिले पनि यहीँबाट लड्न चाहेको खुलाए ।

तर, गठबन्धनबाटै चुनाव लड्ने भएकाले आफ्नो चाहनाले मात्र पनि नहुने बताउँदै उनले भने, ‘गठबन्धनबाटै लड्ने भएकाले को कहाँबाट उठ्ने टुङ्गो लागेको छैन ।’

चुनावका बेला सिटको बाँडफाँडका विषयमा कुरा नमिल्दा कहिलेकाहीँ गठबन्धनमा समस्या हुने गरेको बताउँदै आफ्नो पार्टीले अहिलेसम्म सिट बाँडबाँडमा कुनै दाबी नगरेको बताए ।