भोजपुर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश नामकरणको विषयमा नेकपा (एमाले) संवेदनशील रहेको बताएका छन् । मङ्गलबार प्रेस चौतारी नेपाल भोजपुरले आयोजना गरेको पत्रकार सम्मलेनमा पूर्वमुख्यमन्त्री राईले प्रदेश १ को नामकरण गर्ने विषयमा एमाले संवेदनशील रहेको बताएका हुुन् ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका उन्ले प्रस्तावित सबै नामको विषयमा छलफल गर्न एमाले तयार रहेको बताए । छोटो समयमा भए पनि सहमतिका आधारमा प्रदेशको नाम राख्न एमाले तयार रहेको राईको भनाइ छ । गृहजिल्ला भोजपुर आएका उनले अहिले उठेका किरात, कोसी किरात, सगरमाथा, विजयपुर, सप्तकोसी वा अन्य सबै नामको विषयमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको दाबी गरे ।

उनले आफ्नो कार्यकालमा प्रदेशको नामकरण गर्न पहल गरेपनि दलहरूबीच उत्पन्न भएको किचलोको कारण नाम राख्न नसकिएको दाबी  गरे । राईले भने, ‘म मुुख्यमन्त्री हँुदा नामकरण गर्न धेरै प्रयास गरेँ, दुईतिहाइ बहुमत पनि थियो तर, नाम मात्रको बहुमतका आधारमा नामकरण गर्न सत्तामै भएका साथीहरूले साथ नदिएपछि नामकरण गर्न सकिएन, नामकरणको विषय मैले मात्र चाहेर पूरा हुने विषय थिएन ।’

अहिले मुख्यमन्त्री राजेन्द्र राईको कारण प्रदेश नामकरणको विषय पेचिलो बन्दै गएको उनले बताए । मुुख्यमन्त्री राईको कारण प्रदेश १ सरकारले छलफलका लागि सबै ढोका बन्द गरेकाले प्रदेशको नामकरण हुन नसकेको उनको बुुझाइ छ । मुख्यमन्त्रीले आफ्नो हठ नछाडेको र आफूले चाहेको बाहेक अन्य कुनै पनि प्रस्तावित नामका बारेमा छलफल गर्न नचाहेको राईको आरोप छ ।