सञ्चारक्षेत्र भन्ने बित्तिकै समाजको आँखा, सूचनाको खानी र सबै क्षेत्रको जानकारी राख्न सक्ने क्षमता भएका पत्रकार समाजका आशाका केन्द्र हुन् । सामाजिक सानातिना उपलब्धिको उल्लेख्य व्याख्यात्मक टिप्पणी गर्ने र सानातिना नराम्रा गतिविधिसमेत तुरुन्त बाहिर ल्याउन सक्ने क्षमतावान् व्यक्ति नेपाली पत्रकारितामा छन् भन्ने पूर्ण विश्वास हाम्रो समाजमा अहिले पाइन्छ । राज्यको चौथो अङ्गको उपाधि पाएका पत्रकारहरू इमानदार, आदर्श र नैतिकतावान मात्र हैन, राज्यका विभिन्न अन्य पेशाभन्दा बढी महŒवपूर्ण र जिम्मेवार बन्नुपर्छ भन्ने सामाजिक अपेक्षा रहेको छ । नेपाली समाजले सामान्यतया बुझ्ने गरेको पत्रकार समाजको आँखा र कान दुवै हो वा पत्रकारले समाजमा हुने र भइरहेका हरेक विषय घटनालाई सुन्ने र देख्ने गर्छ ।

अझ पत्रकार समाजको मुख पनि हो किनभने आफूले सुनेका र देखेका विषय घटनालाई विभिन्न व्यक्ति, सङ्घ–संस्थामार्फत् प्रमाणित गरेर मिडियामार्फत् पत्रकारले बाहिर ल्याउँछ । यसका लागि पत्रकार सधैँ स्वतन्त्र, तटस्थ र निष्पक्ष हुनु जरुरी छ । यदि स्वतन्त्र र निष्पक्ष भएन भने उसले सही र यथार्थ सूचना दिँदैन । कतै वा कुनै पक्षको समर्थन वा विरोधमा वा कसैबाट प्रभावित भएर सूचना तोडमोड गर्न थालियो वा दिनुपर्ने सूचना लुकायो र नदिनुपर्नेलाई बढायो भने पत्रकार समाजप्रति, राज्यप्रति र नागरिकप्रति जिम्मेवार भयो भएर हाम्रो समाजले मूल्याङ्कन गर्न थालेको छ । यो सामाजिक सचेना दिने काम समेत सञ्चारक्षेत्रले नै दिएको कारण सञ्चारक्षेत्रले यो गौरव गर्न लायकको विषय हो ।

व्यवस्था परिवर्तनमा जस्तै मुलुक विकासमा पत्रकारको भूमिका अद्वितीय हुन्छ, किनकि शरीरलाई मनले चलाएजस्तै कतिपय राज्यका गतिविधि नियालेर नजानिदो तरिकाले मिडियाले मुलुकलाई दिशा निर्देश गरिरहेका हुन्छन् । यसको शाब्दिक अर्थ राज्य सञ्चालनको लागि सही कार्यदिशा दिने र मार्गदर्शन गर्ने प्रमुख पक्ष नै मिडिया होे । पत्रकार असल कर्म र विशेषताका कारण उसले मुख्यगरी शासक वर्गको चरित्र विरोधी क्रियाकलाप नागरिकमाझ पु¥याउन र नागरिकका भावना बाहिर ल्याउन सक्दछ । सञ्चारक्षेत्रलाई सामाजिक चासोका सवालहरूलाई सरकारसमक्ष पु¥याउने संवाहक, राष्ट्रमा सङ्कट अवस्था र समसामयिक मुद्दाहरूमा सरकारलाई सही सुझाव दिने परामर्शदाताको रूपमा समेत लिन सकिन्छ । सरकार विधिको शासन सञ्चालन गर्न विभिन्न बहस पैरवी गर्ने, खबरदारी गर्ने, दबाव दिने एवम् सञ्चालित गतिविधिको पहरेदारी गर्ने पहरेदार पनि सञ्चारक्षेत्र नै हो ।

तर, सामाजिक परिवर्तनका लागि स्पष्ट कार्यदिशा र मार्गचित्र दिनसक्ने मार्गदर्शक र मुलुकको हरेक क्षेत्रको अध्ययन, अनुसन्धान गरी नयाँ ज्ञान र विचार उत्पादन सञ्चारकर्मीको अभावमा आज पत्रकारिता क्षेत्र नै धरासायी बन्दै गएको छ । मुलुक परिवर्तनमा अहम् भूमिका खेल्न सक्ने सञ्चारक्षेत्रमा कलम चलाउने एवम् आवाज उठाउने जिम्मेवारी इतिहासले वर्तमान पुस्ताका पत्रकारलाई सुम्पेको भए पनि सो जिम्मेवार निर्वाहमा सीमित पत्रकारबाहेक पारिवारिक अभाव, प्रभाव र दबावको बहानामा स्वयम् व्यक्ति र पेशाको बदनाम गराउन उद्यत देखिन्छन् ।

अहिले विज्ञान र प्रविधिको विकाससँगै दुनियाँलाई सांसारिक घटनाक्रमबारे तथ्य र यथार्थ सूचना जानकारी दिनसक्ने अत्यन्त सम्मानित पेसा पत्रकारिता मात्र रहेको समाजको ठहर छ । एउटा पत्रकारको जिम्मेवारी सत्य, तथ्य र तटस्थ पत्रकारिताप्रति समाजको चासो बढी नै हुने गरेको पाइन्छ । तर, पत्रकार समाजको विशिष्ट व्यक्ति हुन उसँग समाज र राज्यका धेरैजसो विषयको ज्ञान नहुनु, प्रमाणित सूचनाभन्दा पेशागत एकपक्षीय समाचार आउँदै गर्दा समाजको अविश्वास बढेको सहजै अनुमान गर्न सकिन्छ ।

सूचना दिने नाममा दर्तासमेत नगरी खोलिएका विभिन्न प्रकारका मिडिया हाउसमा सूचनाको दुरुपयोग गरेर राज्य र समाजमा हिंसा, द्वन्द्व र अराजकता फैलिन सक्छ कि भन्नेसम्म अनुमान नगर्ने पत्रकार पछिल्लो बढेका पत्रकारिताप्रति सामाजिक अपहेलना सुरु भएको छ । पत्रकारिताको अविश्वसनीयता सँगै व्यावसायिक पत्रकार र सत्य–तथ्य सञ्चार गर्ने मिडिया हाउससमेत कठिनाइ भोग्नु परेका तीता यथार्थता हामीसामु छिपेको छैन । तर, हामी भित्रभित्रै सकिन लाग्दासमेत सक्षम, सबल र सही पत्रकारहरू हामी बोल्न सकेको परिस्थिति अहिले पनि छैन किन ? यो प्रश्न एक पत्रकारको मात्र हैन, तमाम समाजको पनि हो ।

जुनसुकै पत्रकार समाजको भिन्न प्राणी र ऊ विशेषाधिकार प्राप्त नागरिक भने हैन । कानूनी राज्यका नीति, नियम र कानूनको पालना गर्नमा हरेक पत्रकार अन्य नागरिक सरह नै हो । पत्रकारिता क्षेत्रका पेसागत काम कारबाहीका लागि राज्यले केही छुट दिए पनि कानूनमाथि पत्रकारलाई कुनै अधिकार छैन । सर्वसाधारण सहजै नपुग्ने ठाउँमा सूचनाको हक संरक्षण गर्न र पेशागत जिम्मेवारीलाई सहजीकरण गर्न राज्यले दिएको सुविधा मात्र हो, यो पत्रकारले विशेषाधिकार भने पाएका होइनन् । यो बुझाउने कसले समाजको अव्यक्त प्रश्न वर्षांैदेखि रहेको छ ।

पत्रकारहरूले पेशा सुरु गर्दा गरेका वाचा प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सामाजिक उत्तरदायित्व बिर्सिएको आरोप लाग्न थालेको छ । आफू कार्यरत मिडिया हाउसबाट कम तलबभत्ता र त्यो पनि समयमा नआउने भन्ने अभाव देखाउन र केही शक्तिशालीहरूको प्रभावमा खबरदारी गर्ने पत्रकार विभिन्न आर्थिकलाभको प्रलोभनमा सत्यतथ्य विषय लुकाउने र शक्तिशाली व्यक्ति र पदको गुणगानमै समय बिताउने गम्भीर आरोप खेप्नु पर्ने नेपाली पत्रकारिताको तीतो यथार्थबारे वर्तमान समयमा सबैजसो पत्रकार र पत्रकार कार्यरत संस्थाहरू बेखबर भनै छैनन् तर, यो महŒवपूर्ण र नकारात्मक विषयलाई चिर्ने नेतृत्व लिन कोही तयार देखिँदैनन् ।

अधिकारका नाममा खोलिएका पत्रकारका पार्टीगत सङ्गठन र जातिगत सङ्गठन पत्रकारिता पेशा मर्यादित, जनपक्षीय र जिम्मेवार अनि लक्ष्यप्रति सदैव प्रतिबद्ध बन्न सकेका छन् त ? यो अर्को प्रश्न हाम्रो सामु छ । पत्रकारिताको आधारस्तम्भ पत्रकार आचार–संहिता पढाउन छोडिएको परिणाम समाजमा पत्रकारप्रति देखिएको घृणा नै हाम्रो उपज हो या प्राप्ति हो ? समग्र पत्रकारिता क्षेत्रमा थपिएको चुनौती हो कि यो हाम्रो पेशाप्रतिको लाचारपन हो ? यी विषयमा बहस गर्ने बेला आएको छ । विभिन्न विषयमा बहस र छलफल गर्न सबै पत्रकार एकै ठाउँमा उभिन नसक्नुका पछाडि  दोषी को हो ? पत्रकारिता क्षेत्रले क्रमिक रूपमा समाजको विश्वास गुमाउन थालेको वर्तमान समयमा समाजको विश्वास जित्न र श्रमजीवी पत्रकारको हित रक्षाको लागि अब ढिला गर्न हुन्न । निरन्तर पत्रकारिताको माध्यमबाट समुन्नत र समतामूलक समाज निर्माण हुनुपर्छ भन्ने मान्यता राख्ने अग्रज आवाज बोल्न सक्ने परिस्थिति नहुनुको कारण खोजी गर्नुपर्छ । यी र यस्ता विषयवस्तु खोजिएन भने पत्रकारिता क्षेत्र र पत्रकारको भविष्य सामान्य सामाजिक सञ्जाल झैं अविश्वसनीय र बेवास्तामा पुग्न सक्छ । प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सामाजिक उत्तरदायित्वसहितको मर्यादित र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति सदैव प्रतिबद्ध हुने पत्रकारिता आजको आवश्यकता हो ।

हामी पत्रकारले बनाएका समाचार सुन्ने, पढ्ने र हेर्ने सुन्ने कुनै सामान्य नागरिक, जो पत्रकारिता र पत्रकार बारेमा पूर्णरूपमा जानकार छ । पत्रकारको दक्षता र क्षमताको प्रश्न उठाउन सक्ने क्षमता भएको समाजमा धर्म, संस्कार र संस्कृति अनि सामाजिक दायित्व एवम् कर्तव्य थाहा पाएको छ, त्यो नागरिकले कि आँखा चिम्लिने कि विरक्तिने बाहेक केही गर्न सक्दैन । शक्तिको आडमा प्रभावमा आएका कतिपय समाचारले पत्रकारिता क्षेत्रको विरोध जनाउनसमेत सक्दैन । कारण पार्टीको भातृसङ्गठन, शुभेच्छुक आदि रहेर, पार्टीका विभिन्न तहमा रहेर, पार्टीकै हित सम्बद्ध भएर लेखिएका समाचारका कारण सर्वसाधारण नागरिक वाक्क भएका छन् । पत्रकारितामा फरकपना ल्याउन नसक्ने, पार्टी र नेतृत्वका गलत कामकारबाहीलाई समालोचना वा आलोचना गर्न नसक्ने र पार्टीको सपथ लिने पत्रकारले कसरी ‘सामाजिक उत्तरदायित्वसहितको मर्यादित, जनपक्षीय र जिम्मेवार पत्रकारिताको कर्तव्य पूरा गर्ला त ? यो सोचनीय र पत्रकारहरूका लागि पेचिलो विषय बन्न थालेको छ । यसर्थ पत्रकारिता अन्य पेसाभन्दा बढी जिम्मेवार पेसा मानिएको किन ? विगतदेखि नै पत्रकारिता व्यावसायिक, स्वतन्त्र, तटस्थ र निष्पक्ष हुन किन सकेन ? कुनै समय मिसन पत्रकारिताको समय आएको थियो ।

तर, सोही उपलब्धिलाई पत्रकारहरूले सदैव शक्ति र सत्ताको वरपर रहेर व्यक्तिगत स्वार्थमा विलिन नै हुने हो त ? तीतो यथार्थ व्यवस्था परिवर्तनका लागि विगतमा राणाशासन अन्त्यको मिसन, निर्दलीय पञ्चायतविरुद्ध मिसन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको मिसन मिडियाले भूमिका खेल्नुपरेको समाज समक्ष जगजाहेर छ ।  मुलुक परिवर्तन भई संस्थागत र विधिवत् शासन सञ्चालन भइरहेको बेला विकास पत्रकारिताले भने कहिले ठाउँ पाउन नसकेको अर्को यथार्थता छ । अहिले पनि हामी सत्ता र शक्ति प्राप्ति मिसनमा र पार्टीका आडमा नै नेपाली मिडिया र पत्रकार अल्झिरहनुपर्ने बाध्यता कसरी बन्यो ? नेपाली पत्रकारिता व्यावसायिक बन्न नसकेको आलोचना अब पनि आउनु अस्वभाविक मान्नु हुन्न । हिजो प्रतिबन्धित कालखण्डमा विशेषगरी काङ्ग्रेस र कम्युनिष्ट पार्टीको मुखपत्रका रूपमा प्रकाशन भएका साप्ताहिक अखबारहरूले विगतमा लोकतन्त्रका लागि खेलेको भूमिका अविष्मरणीय छ । तर ती अखबारले अझै पनि पार्टी पत्रकारिता गरिरहेका कारण आजका हरेकजसो मिडिया र प्रायः पत्रकार कुनै न कुनै राजनीतिक दल, दलका नेता, व्यापारी, माफिया आदिका अघोषित समर्थन र नियन्त्रणमा रहेका छन् । मुलुकले बनाएको कानून र सञ्चार संस्थाहरूले आफ्नै लागि आफैले बनाएको आचार–संहिता पालनामा धेरैजसो मिडिया र सञ्चारकर्र्मी चुकिरहेको पाइन्छ ।

भ्रातृ सङ्गठनका पत्रकारहरूले पत्रकारितामा निष्पक्षता र स्वतन्त्रताका गफ र तर्क वितर्क गर्ने गरे पनि वास्तवमा कुनै अमुक दलको भ्रातृसङ्गठन वा शुभेच्छुक संस्थाका सदस्य हुनु नै उक्त दलका कार्यकर्ता हुनु हो । वास्तवमा पत्रकारहरूको दलीय संलग्नताका कारण नेपाली पत्रकारिता आजसम्म पनि व्यावसायिक बन्न सकेको छैन । न त निष्पक्ष र स्वतन्त्र नै बन्न सकेको छ । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घमा पनि यिनै अनेक दलका भ्रातृ सङ्गठनका कार्यकर्ताको हालीमुहाली गर्ने थलोमा पुग्ने निश्चित छ । जसले गर्दा महासङ्घ पनि आफैमा विभिन्न दलका कार्यकर्ताको कमाउधन्दा गर्ने साझा थलो बन्ने सम्भावना बढेको छ । मिडिया अनुगमन र नियमनको निकाय प्रेस काउन्सिल नेपालको हविगत पनि कुनै फर होला भन्ने लाग्दैन । काउन्सिलले सत्ताधारी दलका पत्रकार भर्ती गर्ने र जागिर खुवाउने थलोका रूपमा आफ्नो परिचय बनाइरहेको छ । यदि पत्रकारितालाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र अनि व्यावसायिक बनाउनेतर्फ लाग्ने हो भने सबैभन्दा पहिलो शर्त क्षमतावान र दक्ष पत्रकारहरूलाई मिडिया हाउसले पर्याप्त तलब, सेवा सुविधा उपलब्ध गराउनै पर्छ । दलका भ्रातृ सङ्गठन र जातिगत रूपमा गठित पत्रकार संस्थाहरू सबै खारेज गर्नु दोस्रो शर्त हुनसक्छ भने तेस्रो शर्त पत्रकार आचार–संहिता पालना नगर्ने विभिन्न सञ्चारकर्मीलाई कारबाही गर्ने र विभिन्न सञ्चार संस्था बन्द गर्न पहल गरिएन भने पत्रकारिताको साख जोगाउन सकिने अवस्था देखिँदैन ।
(लेखकः पत्रकार महासङ्घ धनकुटाका पूर्व अध्यक्ष हुन् ।)