भद्रपुर । निर्वाचन आयोगले सङ्घ र प्रदेशको निर्वाचन मिति तोकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको गतिविधि तीब्र बनाएको छ ।  अध्यक्ष राजेन्द्र लिङ्देनले संघ र प्रदेशको निर्बाचनका लागि पार्टीले झापाबाट तयारी तीब्र पारेको बताएका छन् । 

झापा क्षेत्र नम्वर –३ बाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुने  लक्ष्यकासाथ अध्यक्ष लिङ्देनले जिल्लामा चुनावी गतिविधि शुरु गरेका हुन् । केही दिन यता देखी गृहजिल्ला रहेका लिङ्देन पार्टीको सदस्यता वितरणमा व्यस्त देखिएका छन् ।

यसैक्रममा शुक्रबार विहान मात्र भद्रपुर ८ मा आयोजित पार्टी प्रवेशको कार्यक्रममा अध्यक्ष लिङ्देनबाट २ सय भन्दा बढी नागरिकले पार्टीको  सदस्यता लिएका छन् । विशेष गरी एमाले र काङ्ग्रेमा लामो समयसम्म आवद्ध रहेका नागरिकले पार्टी परित्याग गरी राप्रपाको सदस्यता लिएका थिए । उनीहरुले अध्यक्ष लिङ्देन, केन्द्रीय सदस्य नवराज पनेरु(राजु) लगायतले स्वागत गरेका थिए । पार्टीका वडाअध्यक्ष अम्बीका पोखरेलको सभापतित्व तथा अध्यक्ष्य लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला तथा स्थानीय नेताहरुको उल्लेखिय सहभागिता रहेको थियो । 

समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले सङ्घ र प्रदेशको निर्बाचनका लागि विभिन्न अनुभव सङ्गालेका थुप्रै सम्भावित व्यक्तिहरु रहेको र उनीहरुलाई निर्वाचनका लागि तयारी अवस्थामा राखिएको बताएका छन् ।

आफ्ना देवीदेवता भनेकै झापा क्षेत्र नम्वर ३ का मतदाता  भएकोले देवीदेउता छाडेर अन्त नजाने उनले बताए । एमाल र माओवादी केन्द्रसंँग अघिल्लो निर्वाचनमा गठबन्धन गर्दै निर्वाचन जितेका लिङ्देनले यस पटक पनि गठबन्धनबाटै निर्वाचन जित्ने संकेत गरेका छन् ।

झापा ३ बाट नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेबाट दुर्गाप्रसाद प्रसाईँ चुनाव लड्ने तयारी गरिरहेको बुझिएको छ ।