विराटनगर । प्रदेश  १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण देखिएको छ । 

सोमबार स्वाब परीक्षण  गर्दा मुख्यमन्त्री  राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो । 

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई समेत सङ्क्रमण देखिएको हो ।

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड सङ्क्रमणका कारण  मुख्यमन्त्रीको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको  प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।