विराटनगर । आर्थिक रूपमा ‘टाट’ पल्टिएको विराटनगरस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालि बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीहरूले पाउने तलबसमेत नदिइकन आर्थिक रूपमा टाट पल्टिएको एम्स अस्पताल अनिश्चितकालीन बन्द भएको हो ।

विराटनगरको हस्पिटल चौक नजिक रहेको अस्पतालमा तीन दर्जन स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब पाउन बाँकी रहेको छ । एक जना चिकित्सकले ७ लाख रुपैयाँसम्म पाउनुपर्ने देखिएको छ । यहाँ काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी गरी करिब ३० जना कर्मचारीहरूले २० देखि २५ लाख रूपैयाँभन्दा बढी पारिश्रमिक पाउनुपर्ने देखिन्छ । चरम् आर्थिक सङ्कट उत्पन्न भएपछि आन्तरिक द्वन्द्वको चपेटामा परेको कारण ४ साउनमा सूचना जारी गरी अनिश्चितकालीन रूपमा अस्पताल बन्द गरेका हुन् ।

‘यस अस्पताल संस्थापकसँग विशाल अग्रवालले सम्झौता गरेकोमा, अचानक विना जानकारी अग्रवालले यस अस्पतालका विभिन्न सामान, प्रशासनिक र आर्थिक कारोबारको सम्पूर्ण कागजात, कम्प्युटरसहित अस्पताल छोडी भागेकाले निज उपर कानूनी प्रक्रिया अगाडि बढाइएकोले अर्को सूचना प्रकाशित नहुन्जेल यस असपतालबाट दिइने सम्पूर्ण सेवाहरू स्थगित रहेको जानकारी गराइन्छ’–हस्पिटलले निकालेको सूचनामा उल्लेख छ ।

५० शय्याको अस्पताल अजय यादवले सञ्चालन गर्दै आएका थिए । अस्पताल सञ्चालन खर्र्च धान्न नसकेपछि यादवले कोसी अस्पतालमा कार्यरत सर्जन डा. विशाल अग्रवाललाई ठेक्कामा चलाउन दिएका थिए । मासिक ५ लाख र ५ लाख रूपैयाँ नाफा दिनुपर्ने सर्त राखेर २०७८ पुस २२ गते सम्झौता गरेपछि डा. अग्रवालले डेढ वर्षसम्मको लागि भाडामा लिएका थिए ।

अग्रवालले प्रशासन प्रमुखको जिम्मेवारी लिएर सञ्चालन गरेको ६ महिना पनि पुग्न नपाउँदै हस्पिटल बन्द भएको हो ।  हस्पिटलका प्रबन्धक रहेका अजय यादवले सम्झौताअनुसार काम नगरेको, जबरजस्ती रूपमा गुण्डागर्दी शैलीमा असार २७ गते हस्पिटल बन्द गरिदिएको अग्रवालले बताए । ‘हस्पिटल भाडामा लिँदा युरोलोजी, इण्डोसकोपी, जेनेरल वार्ड बनाइदिन्छु भनेका थिए ।

तर, सम्झौताअनुसार कुनै पनि काम नभएपछि हामीले मुनाफा बापत दिने भनेको मासिक ५ लाख रुपैयाँ रोकिदिएका थियौं’ डा. अग्रवालले भने, ‘त्यही विषयलाई लिएर हस्पिटलजस्तो संवेदनशील ठाउँ अहिले बन्द हुन पुगेको छ ।’ आफूले बिमा बापतको करिब २५ लाख रुपैयाँ पाउनुपर्ने भएकोले उक्त रकम पाएपछि काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरूको पैसा पनि दिने उनले बताए ।

एम्स अस्पतालका प्रबन्धक निर्देशक अजय यादवले आफूले सम्झौताअनुसार पैसा नपाएको र डा.अग्रवालको टिमले हस्पिटल चलाउन नसक्ने भनेर हात उठाएपछि केही दिनको लागि मात्र हस्पिटल बन्द भएको बताए । ‘सम्झौता गरी हस्पिटल जिम्मा लिने अग्रवालले बदमासी गरेका छन् ।

अस्पतालको नक्कली लेटरप्याडदेखि सही पनि नक्कली बनाएर जालसाजीसमेत गरेका छन् । ‘हामी कानूनबमोजिम कारबाहीको प्रक्रियामा गएका पनि छौं’ उनले भने, ‘कानूनी लडाइँ सकेपछि केही दिनभित्रमा यी सबै समस्या हटाएर हस्पिटल पुनः सञ्चालनमा ल्याउनेछौं ।’

Amis