धरान । नेपाल विज्ञापन सङ्घ (आन) ले आयोजना गर्ने कृति अवार्डको १२ औं संस्करण यही भाद्र २६ मा हुने भएको छ ।

२०६० सालदेखि सुरु गरेको नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्यले सुरु भएको अवार्डको १२ औं संस्करण घोषणा समारोहमा सङ्घका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड–१९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यवसायिक परिस्थिति झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आप्mनो समूहलाई सहभागी गराउन पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने बताए ।

त्यसैगरी आयोजकका तर्फबाट सङ्घका अध्यक्ष धितालले धन्यवाद ज्ञापन गरे । अवार्डस्मा २०७६ वैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवद्र्धनात्मक रचना तथा कामहरूलाई समावेश गरिनेछ । सङ्घका सदस्य एजेन्सीहरूले २०७९ साउन ५ गते देखि भाद्र ४ गतेसम्म मनोनयन दर्ता गर्न सकिने पनि सङ्घले जनाएको छ ।