धरान । धरान–१८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि स्वदेश र नेपाल बाहिरका नेपालीभाषी लेखक साहित्यकारसँग कृति उपलब्ध गराउन आह्वान गरेको छ ।

पुस्तकालयका संरक्षकसमेत रहेका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार ‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि छुट्टै समिति बनाएको र सोही समितिमार्फत् पुस्तकालयले लेखक साहित्यकारसँग कृति उपलब्ध गराउन आह्वान गरेको हो ।

उनल भने, ‘पुरस्कार राशि नगद २ लाख रुपैयाँको रहेको छ । ०७८ सालभरि प्रकाशित भएका नेपाली भाषाका जुनसुकै विधाका कृतिमध्ये एक उत्कृष्ट पुस्तकलाई ‘कवि विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिनेछ ।’ पुरस्कार कात्तिक १९ गते कवि विमलको जन्मदिनको अवसरमा आयोजित हुने ‘कवि विमल गुरुङ स्मृति राष्ट्रिय युवा कविता महोत्वस’ को अवसरमा प्रदान गरिनेछ ।

उनका अनुसार लेखक साहित्यकारहरूले विमल कृति पुरस्कारमा सहभागी हुन कात्तिक पहिलो सातासम्ममा कम्तीमा ४–४ प्रति आफ्नो कृति पुस्तकालयमा दर्ता गर्नु पर्नेछ । भारतीय नेपालीभाषी लेखक, साहित्यकारका कृति पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा पर्ने सिलिगुडीको सालबारीस्थित सहिद दुर्गा मल्ल रोड, एनेक्स हिल कार्ट प्रज्ञा भवनमा रहेको बुक–एन्टमा पठाउन सक्नेछन् ।

बुक–एन्टले दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर, शिलोङ, मेघालय, कलकत्ता, उत्तराखण्डको देहरादुनलगायतमा बसेका नेपालीभाषी लेखक, साहित्यकारका कृति सङ्कलन गरेर पुरस्कार मनोनयनका लागि धरानको विमल स्मृति पुस्तकालयलाई उपलब्ध गराउने सहमति भएको बुक–एन्टका सञ्चालक सदस्यमध्ये एक कवि साहित्यकार राजा पुनियानीले बताए ।

कवि विमल गुरुङ कृति पुरस्कारका लागि पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ र छोरी शान्ति गुरुङले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

०२८ साल कात्तिक १९ गते जन्मेका विमलको ०४८ वैशाख २४ गते सडक दुर्घटनामा परी निधन भएको थियो । एक्लो कवि, पत्रकार छोराको निधनपछि पूर्व व्रिटिश गोर्खा सैनिक बाबु पूर्णबहादुर, आमा सरस्वती र बहिनी शान्तिले धरान–१८ बुद्धचोकमा कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरेर बर्सेनि राष्ट्रिय युवा कविता महोत्सव आयोजना गर्दै आएका छन् ।

यसै वर्षदेखि नेपाली भाषामा नेपालीसहित जुनसुकै मुलुकका नागरिकले सबैखाले विधामा लेखिएकामध्ये एक उत्कृष्ट पुस्तकलाई ‘कवि विमल गुरुङ कृति पुरस्कार’ दिने निर्णय गरेअनुसार कृतिका लागि आह्वान गरेको हो । ‘कवि विमल गुरुङ कृति पुरस्कार’ समितिमा संरक्षक गुरुङसहित प्राज्ञ शशी लुमुम्बु, सञ्चारकर्मीसमेत रहेका कवि कथाकार प्रदीप मेन्याङ्बो, लेखक राजकुमार दिक्पाल, डम्बरकृष्ण श्रेष्ठ, जसकुमार राई रहेका छन् ।