इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ । इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ । 

ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ बस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन रहिआएको छ । यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । 

आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गर्दै आएकोे छ । यो पर्वका बेला हैसियत हुने मुस्लिम हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् भने अन्यले आफ्नो घरमा जनावरको कर्बानी (बलि) दिने गर्दछन् । उक्त कुर्बानीको मासु तीन भाग लगाएर एक भाग आफ्नो परिवार, अर्को भाग छिमेकी तथा इष्टमित्र र अर्को एक भाग गरीब तथा दिनदुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।

यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायले आफन्तजनसँग एकआपसमा अँगालो हाली शुभकामना आदान प्रदान गर्नाका साथै युवायुवती, केटाकेटी  विराटनगरको बजार तथा मलहरुमा किनमेल तथा चिसो पेयपदार्थ खाएर  रमाइलो गरेका छन् । यसैबीच इस्लाम धर्मगुरुले कुर्बानी९बलि०को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्चालमा नराख्न सबैलाई आग्रह गरेका छन् ।