बिर्तामोड । शनिश्चरे–बिर्तामोड सडक खण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट फिदिम–५ पाँचथर घर भइ झापा बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २४ बर्षीय कुमार खनालको मृत्यु भएको हो । शुक्रबार राती खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल कप्तानबारी चोक नजिकै सडकबाट अनियन्त्रित भएर नालीमा खस्दा खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खनालको शव सडक किनारमा बिहान पैदल यात्रीले देखेर प्रहरीलाई खबर गरेका थिए ।

शनिश्चरेस्थित एक फर्निचरमा काम गर्ने खनाल शुक्रबार मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन्छु भनेर घरबाट हिडेको पारिवारिक श्रोतले जनाएको छ ।