धरान । सामान्यतया पित्त नलीमा पत्थरिया भएमा शल्यचिकित्सकले ल्याप्रोस्कोपिक (दूरबिन प्रविधि) अपनाएर वा पेटसँगै पित्त नली पनि चिरेर ढुङ्गा निकाल्छन् । तर, यो चिकित्सा प्रविधि पुरानो भइसकेको छ । यो पद्दतिलाई पछिल्लो समयमा इआरसिपी अर्थात् इन्डोस्कोपिक रेट्रोगे्रड कोलन्जीयो प्याङ्क्रियाटोग्राफीले विस्थापित गर्न थालेको छ ।

इआरसिपी प्रविधिबाट पित्त नलीको पत्थरियालाई मुखको अन्ननली र पेट हुँदै सानो आन्द्रा र कलेजोसँग जोडिएको पित्त नलीमा रहेको पत्थरिया इआरसिपीस्कोप प्रयोग गरेर मुखबाटै निकालिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी (पेट तथा कलेजो रोग विभाग) का प्रमुख प्रा.डा. विक्रम प्रधानले भने, ‘यो चिकित्सा पद्दतिमा पित्त नलीको पत्थरिया निकाल्न पेट र पित्त नली चिर्न पर्र्दैन । ३० देखि ४० मिनेटमा इआरसिपी गरेर पित्त नलीमा रहेको पत्थरिया निकाल्न सकिन्छ ।’

उनका अनुसार इआरसिपी प्रविधि मुख्य गरी पित्त नलीमा रहेको पत्थरिया, खुम्चिएको पित्त नलीबाट पित्त बगाउन स्टेन, गल ब्लाडर र पेङ्क्रियाजको क्यान्सर हुँदा पित्त नबगेर बनेको जण्डिस, अप्रेशन गर्दा पित्तमा चोट लागेर पित्त चुहिने अवस्था भए प्वाल बन्द गर्न र सङ्क्रमण भएर पित्त नलीमा जमेको पिप बगाउन उपयोग हुने गरेको छ ।  

उपत्यकाबाहिर पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इआरसिपी प्रविधि भित्रिएसँगै प्रदेश १ र मधेश प्रदेशका बिरामी लाभान्वित भएको प्रा.डा. प्रधानले बताए । उनले भने, ‘मुखबाट विषेश प्रकारको क्यामेरा र प्रविधियुक्त इआरसिपीस्कोप पाइप छिराएर कम्प्युटर स्क्रिनमा हेर्दै कलेजोको छेउमा रहने पित्त नलीमा हुने ढुङ्गा, अरू कारणले हुने समस्या, बग्न नसकेको पित्त र सङ्क्रमणले बनेको पिप निकालिने पद्दति नै इआरसिपी हो ।’ यसका साथै इआरसिपी प्रविधिबाट पत्थरीयाको ट्युमर र परजीवी हेर्ने, पेटसम्बन्धी रोगहरू पत्ता लगाउन सकिन्छ ।

डा. प्रधानले भने, ‘इआरसिपी भनेको विना चिरफार पित्त नलीमा अड्किएको पत्थरी (ढुङ्गा) निकाल्ने प्रविधि हो । यो पद्दतिबाट जोखिम कम हुन्छ । यो उपचार पद्दति निकै भरपर्दो र प्रभावकारी अनि कम खर्चमा हुन्छ ।’ उनका अनुसार बिरामीलाई अप्रेशन गर्नुपर्ने, अप्रेशनपछि घाउ पाक्ने, ढिलो निको हुने, समय र खर्च बढी लाग्ने अवस्थाको अन्त्य इआरसिपी उपचार पद्दतिबाट भएको छ । यो पद्दतिबाट उपचार गरेका बिरामी बिहान आएको छ भने उपचार गरेर बेलुकासम्ममा वा बढीमा एकदिन मात्र अस्पताल बसेर तुरुन्तै घर फर्कन सक्छ । पित्त नलीमा रहेको पत्थरीया निकाल्ने पाइपलाई इआरसिपी स्कोप वा साइड भ्युइङ स्कोप भनिन्छ ।

उनले भने, ‘मङ्गलबार बिहान पेट दुखेर सहनै नसक्ने भएपछि एकजना युवा यहाँ (बीपी प्रतिष्ठानमा) आएका थिए । जाँच गर्दा पित्त नलीमा २० एमएमको पत्थरीया अड्केर सङ्क्रमण भएको पाइयो । उनको तत्काल इआरसिपी गरेर पित्त नलीको पत्थरीया निकाल्दा पिप पनि निकालियो । करिब ३५ मिनेटमा यति काम गरेर अर्धवेहोसीबाट पूर्ण होसमा आउँदा तत्काल प्रतिक्रिया दिएका थिए, आहा १ क्या सन्चो भयो डाक्टर सा’प । मर्छुजस्तो लागेको थियो । अब चाहिँ बाँच्ने रहेछु ।’

उनको पित्त नलीमा रहेको पत्थरीया र पिप उनकै मुखबाट निकालेको भनेर देखाउँदा झन ट्वाल्ल पर्दै हेरेर आश्चार्यचकित भएको प्रा.डा. प्रधानले बताए । प्रतिष्ठानमा शल्यक्रिया गर्नुपरेमा वा मुटु रोगको इकोकार्डियो ग्राम गर्नुपरे वा भिडियो एक्स–रे गर्नुपरेमा अहिले पनि कम्तिमा दुई सातादेखि तीनसाता पालो पर्खिनु पर्ने अवस्था कायमै छ । तर, इआरसिपीका लागि भने पालो पर्खिनु पर्दैन । बिरामीको अवस्थाअनुसार आएको समयदेखि दुई दिनभित्रमा उपचार गरेर घर फर्काउने गरिएको छ ।

उनलाई पूर्वमा पहिलो पटक इआरसिपी प्रविधि भित्र्याउने चिकित्सकको रूपमा चिनिन्छ । भारतको तामिल प्रान्तस्थित कोयम्बटुरको भिजिएम ग्यास्ट्रो सेन्टर हस्पिटल, उत्तर प्रदेशको एक अस्पतालमा र युरोपको एक अस्पतालमा इआरसिपी प्रविधि सिकेपछि प्रा.डा. प्रधान फेरि बीपी प्रतिष्ठानमै फर्केर आफूले जानेको चिकित्सकीय ज्ञान उपयोग गर्ने उद्देश्यले सुरुमा आफै उपकरण किनेर बिरामीको उपचार सुरु गरे । प्रतिष्ठानको अवस्था डामाडोल भएपछि आवश्यक उपकरण उपलब्ध नगराउँदा करिब एक वर्षसम्म इआरसिपी नगरी सामान्य ग्यास्ट्रोलोजिस्टको रूपमा समय बिताएका थिए ।

उनले भने, ‘अहिलेसम्ममा बीपी प्रतिष्ठानको ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागबाट करिब ५ सय जनाको इआरसिपी प्रविधिबाट पित्त नलीमा रहेको पत्थरीया, पिप, खुम्चेको नलीको उपचार भइसकेको छ । तीमध्ये करिब ५ प्रतिशत भारत विहार प्रान्तका बिरामी पनि छन् ।’ पित्त नलीमा पत्थरीया पित्तमा बनेर बग्दै आउँदा अड्किएर पनि बस्न सक्ने र नलीमै पनि आफै बन्न सक्ने प्रा.डा.प्रधानले बताए । उनका अनुसार १२ एमएमको पत्थरीया सहजै निकाल्न सकिन्छ भने १३ एमएमदेखि २५ एमएमसम्मका पत्थरीयालाई भने ‘मेकानिकल त्रिप्सी’ गरेर नलीमै टुक्रा पारेर निकाल्ने गरिन्छ ।

उनले भने, ‘इआरसिपी एकजना डाक्टरले मात्र गर्न सक्दैन । यसका लागि समग्र टिम नै चाहिन्छ । एकजनाले इआरसिपी स्कोप चलाउने हो, अर्कोले स्क्रिनमा हेर्ने हो, अर्कोले त्यस्तै महŒवपूर्ण जिम्मेवारी सम्हाल्ने हो । म एक्लैले मात्र गर्ने होइन ।’ उनको सीप भने पित्त नलीको पत्थरीया निकाल्नु हो । उनले भने, ‘मलाई डा. डेनिस पियुस, डा. सन्दीप बज्राचार्य, डा. विवेक मल्ल र नर्सलगायतले सहयोग गर्छन् ।’

वर्षमा दुई सयवटा इआरसिपी गर्ने अस्पताललाई ‘हाई भ्योल्युम सेन्टर’ मानिन्छ । बीपी प्रतिष्ठान इआरसिपी प्रविधिमा पित्त नलीमा रहेको पत्थरियाको उपचार गर्नेमा ‘हाई भ्योल्युम सेन्टर’ को रूपमा स्थापित भइसकेको छ ।  

कतिपयलाई बीपी प्रतिष्ठानमा इआरसिपी प्रविधिबाट पित्त नलीमा रहेको पत्थरीयाको उपचार गरिन्छ भन्ने जानकारी नभएर पनि बिरामीहरू भारत र उपत्यकाका महँगा अस्पतालमा जाने गरेका छन् । बीपी प्रतिष्ठानमा इआरसिपी गरेबापत लाग्ने शुल्क ८ हजार रुपैयाँमात्र रहेको छ । जबकि अन्य अस्पतालमा कम्तिमा ६० हजार रुपैयाँदेखि दुईलाख रुपैयाँ भन्दा बढी खर्च हुने गरेको छ ।