विराटनगर । विराटनगरमा च्याउसरी खुलेका निजी क्लिनिकले कोसी अस्पतालको नाम दुरुपयोग गरेको पाइएपछि कारबाहीको लागि स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । यहाँका निजी क्लिनिकहरूले कोसी अस्पतालमा कार्यरत चिकित्सकको नाम क्लिनिकअगाडि राखेर दुरुपयोग गरेको पाइएपछि कारबाहीको लागि प्रशासनलाई पत्राचार गरेको हो ।

अनधिकृत रूपमा निजी क्लिनिकहरूले अस्पतालमा कार्यरत चिकित्सकहरूको नाम राख्ने क्रम बढेपछि अस्पतालले सूचना जारी गरी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

कोसी अस्पतालको नाम उल्लेख गरी निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारबाही गरिदिन प्रशासनसँग माग गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयलाई कारबाहीका लागि पत्र पठाएका हुन् ।

कोसी अस्पतालमा कार्यरत चिकित्सक निजी क्लिनिकमा समेत बिरामीको स्वास्थ्य परीक्षण गर्न आउने जनाउ दिँदै अनधिकृत रूपमा नाम जोड्ने गरिएको भन्दै त्यस्तो गर्नेलाई कारबाहीको माग गरिएको छ ।

निजी क्लिनिकका सञ्चालकले बिरामीलाई प्रभावमा पार्न सरकारी अस्पतालमा कार्यरत वरिष्ठ रोग विशेषज्ञ उल्लेख गरेर बोर्ड राख्दै आएका छन् । विराटनगरका अधिकांश निजी क्लिनिक सञ्चालकले कोसी अस्पतालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने भन्दै बोर्ड राख्ने गरेका छन् ।

यसरी बोर्ड राख्दा राम्रो र विशेषज्ञ चिकित्सक क्लिनिकमै आउने भनेर सेवाग्राहीलाई ठग्ने प्रवृत्ति बढ्दै आएको थियो । ग्रामीण क्षेत्रबाट उपचार गर्न बस चढेर आउने सेवाग्राही विराटनगरमा गाडीबाट ओर्लनासाथ सिटी रिक्सामार्फत् निजी क्लिनिकमा पु¥याउने दलाल सक्रिय छन् । दलालहरूले निजी क्लिनिकमा कोसी अस्पतालका चिकित्सक आउने भनेर राखिएको बोर्ड देखाउँदै बिरामीलाई जबरजस्ती त्यहाँ रोक्ने गरेका छन् । दलालले निजी क्लिनिकमा बिरामी पु¥याएपछि निश्चित रकम पाउने गर्दछन् ।

विराटनगरको शनिमन्दिरमा सबैभन्दा धेरै क्लिनिकका बिचौलिया रहँदै आएका छन् । बिचौलियालाई क्लिनिक सञ्चालकले नै सिटी सफारी किनेर दिएका छन् । ती सिटी सफारीमा अस्पतालसम्म जान चढेका सेवाग्राहीलाई क्लिनिकमा पु¥याउने काम हुने गरेको छ । क्लिनिकमा पुग्दा कोसी अस्पतालका चिकित्सकले नै स्वास्थ्य परीक्षण गर्ने भनेर झुक्याउनका लागि चिकित्सकको नाम उल्लेखित बोर्ड राखिएको हुन्छ । अब कोसी अस्पतालले त्यसरी बोर्ड राख्ने क्लिनिक सञ्चालक तथा चिकित्सकसमेतलाई कारबाही गरिदिन माग गर्दै स्थानीय प्रशासनसँग पत्राचार गरेको छ ।

कोसीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले सरकारी अस्पतालको अनधिकृत रूपमा नाम प्रयोग गरेर सेवाग्राहीलाई झुक्याउने सबै निकायले तत्कालै त्यस्ता बोर्ड हटाउनुपर्ने नत्र कानूनी कारबाही गरिने बताए ।