धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको असार २० गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै गठबन्धन प्यानलका अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठ अहिले जिल्लाभरका वस्तुगत सङ्घ र पूर्व अध्यक्षसँग भेटघाटमा व्यस्त छन् ।

श्रेष्ठले तीन वर्षे कार्यकालमा आफूले गर्ने सङ्कल्प र एजेन्डा प्रस्तुत गर्दै आएका छन् । वस्तुगत सङ्घका पदाधिकारी, पूर्व अध्यक्षहरूसँग भेटेर आफूलाई जिताउन आग्रह गरे । व्यवसायीको पक्षमा आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

उनी पर्यटन क्षेत्रको विकास, सङ्घको दैनिक सेवा क्षेत्रको सुरुवात, सरकार र सङ्घबीच सहकार्य, महँगी नियन्त्रणका लागि उपायको खोजीलगायतका मुद्दा बोकेर घरदैलो कार्यक्रममा व्यस्त छन् ।

यसैबीच चतरा तथा झुम्काका व्यवसायीलाई भेट गरेका छन् । उनलाई त्यहाँका व्यवसायीले समर्थन गर्ने श्रेष्ठ पक्षले जनाएको छ । उनलाई पूर्वअध्यक्ष अशोक ताम्राकार, खजान्चीदास अग्रवाल, गौरीशङ्कर अग्रवाल, गिरिधारी सापकोटालगायतले साथ दिएका छन् ।

श्रेष्ठको प्यानलमा उद्योगतर्फ चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठको उम्मेदवारी रहेको छ भने वाणिज्यतर्फ महिलामा ममता शाक्य, खुल्लातर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राजभण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सीताराम आचार्यले उम्मेदवारी दिएका छन् । यता वस्तुगतमा अनिल ताम्राकार र नारायण लिम्बूको उम्मेदवारी रहेको छ ।