ग्रामीण क्षेत्रका व्यावसायीका मुद्दालाई आत्मसात गरी सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका शिवराज श्रेष्ठको अभियान पूर्वको पुरानो व्यापारिक केन्द्र चतरा पुगेको छ । 

चतराका व्यावसायीले श्रेष्ठ समूहको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाम्रीण क्षेत्रको बजारको विकासमा ध्यान दिन आग्रह गरेका छन् । संस्थाको सबल र सक्षम नेतृत्व गर्न सक्ने उम्मेदवारलाई भोट दिन चाहान्छौं, जसले संस्थालाई सबल ढंगले अगाडि बढाउन सकोस्,’ चतराका व्यावसायी डम्बरप्रसाद सिग्देलले भने, ’शिवराज श्रेष्ठमा त्यो खुबी देखिएको छ ।’

पूर्वी पहाडी जिल्लाहरुको केन्द्रको रुपमा रहेको चतरा विगत केही वर्षदेखि व्यापारिक चहलपहल सुस्त रहेको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले पुराना बजारहरुको प्रवद्र्धनका लागि संघको नेतृत्व लिएपछि ठोस योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यसै गरी बिहीबार (आजै) रामधुनी नगरपालिकाको झुम्का बजारका उद्योगी व्यावसायीका घरदैलोमा पुगी उम्मेदवार श्रेष्ठसहितको टोलीले सक्षम नेतृत्वलाई मतदान गर्न आग्रह गरेको छ । झुम्काका कृषि व्यवसायी नारायणप्रसाद काफ्लेले दक्ष र अनुभवी उम्मेदवारका रुपमा परिचित शिवराज श्रेष्ठ समूहलाई आफूहरुको समर्थन रहेको जनाउँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

श्रेष्ठले दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यभार पूरा गर्ने उद्देश्यअनुरुप योजना निर्माण गरेको बताए । 

श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्ने, संघको दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, सरकार र संघबीच सहकार्य गर्ने, महँगी नियन्त्रणको उपायको खोजी गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, उद्योगी व्यावसायीको सुरक्षामा जोड दिने, प्रदर्शनी स्थल, पार्टी प्यालेस, आवश्यक स्थानमा सीसीक्यामेरा जडान गर्ने साथै व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने आधारभूत एजेण्डा अघि सारेका छन् ।

‘सक्षम, सुदृढ र समृद्ध सुनसरी उद्योग वाणिज्य संघ, व्यावसायिक सुरक्षाका लागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नारासहित श्रेष्ठ अध्यक्ष रहेको प्यानलतर्फ उद्योगमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठले उम्मेदवारी दिएका छन् । वाणिज्यतर्फ महिला सदस्यमा ममता शाक्यले उम्मेदवारी दिएकी छन् । यसैगरी वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राजभण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सीतारामा आचार्यले सदस्य पदमा उम्मेदवारी दिएका छन् । 

यस्तै वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बूले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।