धनकुटा । १ नम्बर प्रदेश कै पहिलो पर्यटकीय गन्तव्य हिले बजार सिरानमा हिले पार्क जोनसँगै सार्वजनिक शौचालय निर्माण भएपछि यात्रुलाई सुविधा पुगेको छ ।
प्रदेश सरकार वन, वातावरण तथा पर्यटन मन्त्रालय विराटनगरको लगानीमा धनकुटा नगरपालिका वडा नम्बर १ हिले बिच बजारमा हिले पार्क जोनसँगै सार्वजनिक शौचालय निर्माण गरिएको हो । करिब १ रोपनी क्षेत्रफलमा निर्माण सम्पन्न गरिएको हिले पार्क जोन निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुम्नको लागी गन्तव्य वनेको छ ।
आ.व.०७६/०७७ मा निर्माण कार्य सम्पन्न भैसकेको हिले पार्क जोन निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको घुम्न, फोटो खिच्न आउने गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष धिरेन थिमले बताए । उनले पार्कसँगै शौचालय पनि निर्माण गरिएकाले घुम्न आउने र सार्वजनिक सवारी साधनमा आवतजावत गर्ने यात्रुहरूको लागी सहयोग पुगेको थिङको भनाई छ । प्रदेश नं।१ कै पर्यटकीय स्थल हिले बजारमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुम्न वा मन भुलाउन सहज होस भन्ने उद्देश्यले निर्माण गरिएको हिले पार्क जोनमा प्रदेश सरकारको ६७ लाख, ६२ हजार रुपैयाँ लगानी भएको छ ।
धनकुटा नगरपालिकाको पहलमा करिब १ रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको हिले पार्क जोनमा एकै पटकमा ६ जनासम्मले प्रयोग गर्न मिल्ने महिला पुरुषको छुट्टा–छुट्टै सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । नगरपालिकाले ५० लाख रुपैयाँ खर्चेर व्यक्तिको निजी जग्गा खरिद गरेर हिले पार्क जोन निर्माण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताएका छन् । पार्कमा स्थानीय बृद्धबृद्धाहरुलाई पार्कको विभिन्न स्थानमा विश्रामलय, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई हिले र आसपासको क्षेत्रको पर्यटकीय स्थलहरूको जानकारी गराउने उद्देश्यले सूचना केन्द्र समेत निर्माण गरिएको छ । त्यसको साथमा हिलेको ऐतिहासिक तथा पुरातात्त्विक बस्तुहरूको पहिचान झल्काउने खालको फोटो संग्राहलय समेत स्थापना गरिएको छ ।
हिले पार्क जोनलाई हेरुङ्ग हेरुङ्ग लाग्ने बनाउन पार्क भित्र रातको समयमा बत्ती बाल्न ५ वटा सोलारका साथमा ४८ वटा लाइट बल्बहरू राखिएका छन् । पार्कको माथिल्लो भागमा पानीको फोहोरा फाउन्डेसन राखिएको छ । जसले गर्दा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको मन भुलाउन र मनोरञ्जन लिन मद्दत पुर्याउने छ । पार्कमा आउने पर्यटहरुलाई घण्टौँसम्म रमाउन धनकुटा नगरपालिकाले फ्री वाईफाईको प्रबन्ध मिलाएको छ । पर्यटक तथा पार्कमा आउने जोकोही आगन्तुकहरूको लागी बस्नको लागी १६ वटा भन्दा बढी फलामको बेन्च निर्माण गरिएको छ । हिले पार्क जोनलाई सजाउनको लागी विभिन्न साइजका माटाका घैला एक दर्जन, गमला २ सय थान, २ वटा बाघको प्रतिमा विभिन्न प्रजातिका साइकस, क्याक्टस लगायत दर्जनौँ रङ्गका फूलहरू खरिद गरेर पर्यटकको मन लोभ्याउन सजाएर राखिएका छन् ।
हिले विगत लामो समय देखी पर्यटकीय केन्द्र भएर पनि हालसम्म बजार क्षेत्रमा सार्वजनिक शौचालय नभइरहेको अवस्थामा हिले पार्क निर्माणसँगै २ वटा महिला पुरुषको छुट्टा–छुट्टै शौचालय निर्माण हुनु र शौचालयसँगै हिले पार्क निर्माण हुनुले आगामी दिनमा हिले प्रदेश नं।१ कै पर्यटकीय हब बन्नेमा आशावादी रहेको धनकुटा नगरपालिका वडा नं।१ का वडाध्यक्ष ओङ्गदा थिङ तामाङले बताए ।
उनले आ.व.०७६/७७ मा हिले बजारको सिरानमा हिले भ्यूटावर, वक्र कुण्डमा नागको प्रतिमा , टायल बिछ्याउने कार्य,हिले खेल मैदान निर्माण, टिम्बुरे डाँडामा सागर घर, सात तले गुफामा विभिन्न भौतिक पूर्वाधारको काम सम्पन्न भएको बताए । त्यसका साथै हिले नजिकैको जौटार सामुदायिक वनमा पनि पर्यटकको आकर्षणको लागी पिकनिक स्पट, बाल उद्यान लगायतका दर्जनौँ भौतिक पूर्वाधारको योजना काम सम्पन्न भैसकेको वडाध्यक्ष तामाङले बताए ।