सुनसरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका सन्दर्भमा वस्तुगत संघ र पूर्व अध्यक्षहरुसँग गठबन्धनतर्फका अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठसहितको समूहले भेटघाट गरेको छ । 

परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्षका उम्मेदवार श्रेष्ठले आफ्ना सङ्कल्प र एजेण्डाहरु प्रस्तुत गरेका थिए । श्रेष्ठले दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यभार पूरा गर्ने उद्देश्यअनुरुप योजना निर्माण गरेको बताए । 

श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्ने, संघको दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, सरकार र संघबीच सहकार्य गर्ने, महँगी नियन्त्रणको उपायको खोजी गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, उद्योगी व्यावसायीको सुरक्षामा जोड दिने, प्रदर्शनी स्थल, पार्टी प्यालेस, आवश्यक स्थानमा सीसीक्यामेरा जडान गर्ने साथै व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने आधारभूत एजेण्डा अघि सारेका छन् ।

आयोजित कार्यक्रममा संघका पूर्व अध्यक्षहरु अशोक ताम्राकार, खजान्चीदास अग्रवाल, गौरीशंकर अग्रवाल, गिरिधारी सापकोटा लगायतको उपस्थिति थियो । 

परिचय तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक मनोज मेन्याङ्बो, नेकपा एमालेका प्रदेश सचिवालय सदस्यहरु मुरारी सुवेदी, रमेश बस्नेत, प्रदेश कमिटी सदस्य रामकुमार आङ्बुहाङको उपस्थिति थियो । यस्तै नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घका केन्द्रीय सदस्य केदार लामिछाने, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य सिपी दत्त,  नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजङ एभेङ, नेकपा एकीकृत समाजवादीका धरान अध्यक्ष रेवतीरमण राई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू, केन्द्रीय पोलिटब्यूरो सदस्य दीपक मेन्याङ्बो लगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो । 

‘सक्षम, सुदृढ र समृद्ध सुनसरी उद्योग वाणिज्य संघ, व्यावसायिक सुरक्षाका लागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नारासहित श्रेष्ठ अध्यक्ष रहेको प्यानलतर्फ उद्योगमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठले उम्मेदवारी दिएका छन् । वाणिज्यतर्फ महिला सदस्यमा ममता शाक्यले उम्मेदवारी दिएकी छन् । यसैगरी वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राजभण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सीतारामा आचार्यले सदस्य पदमा उम्मेदवारी दिएका छन् । 

यस्तै वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बूले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।