गत स्थानीय तह निर्वाचनमा केही पालिकाहरूमा अनपेक्षितरूपमा स्वतन्त्र उम्मेदवारहरूले बाजी मारे । यसले राष्ट्रिय राजनीतिक वृृत्तमा तरङ्ग सिर्जना गरेको छ । राजनीतिप्रतिको दृष्टिकोण वा हेराइहरूमाथि प्रश्न उब्जिएको छ । सकारात्मक तथा नकारात्मक टिका–टिप्पणीहरूले अर्थराजनीतिक सरगर्मी बढाएको छ । यसले स्थापित सिङ्गो सामाजिक भाष्य वा मनोविज्ञानहरूलाई चुनौती दिइरहेको छ । राजनीतिप्रति एकाएक स्वार्थगत आकर्षण बढाएको छ । सबैमा मनोगत एवम् भावनात्मक महŒवाकाङ्क्षा जगाएको छ । यो सुखद् पक्ष हो ।

यही पृष्ठभूमिमा पछिल्लो समय स्वतन्त्र पदावली असाध्यै चर्चामा रहेको छ । यद्यपि वस्तुतः वर्गसमाजमा निरपेक्ष स्वतन्त्र भन्ने विचार, वस्तु वा सत्ता हुँदैन । स्वतन्त्रप्रति एक किसिमको बनिबनाउ मोह बढिरहेको छ । यहाँसम्म कि सबै सामाजिक रोगहरूको सर्वरोगहारा औषधि नै स्वतन्त्र हो । बेथितिको थिति अनि विसङ्गतिको सङ्गति नै स्वतन्त्र हो । यस्तै भावोत्तेजनामा स्वतन्त्र बन्ने र बनाउनेक्रम मात्र बढेको छैन, स्वतन्त्र दल नै स्थापना गरेर च्याँखे दाउमार्फत् राजनीतिक अभिष्ट पूरा गर्ने सिलसिला पनि एकाएक बढिरहेको छ । यो छिटोमीठो फास्टफुडको शैलीमा आएको देखिन्छ । जुन क्रम अभैm बढ्ने सम्भावना छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी यसैको पछिल्लो कडी हो ।

वास्तवमा कुनै पनि राजनैतिक पार्टी जतिखेर मन लाग्यो, त्यति नै खेर खोल्न मिल्ने खुद्रा पसलजस्तो होइन । भन्ने बित्तिकै कसैको भावना, इच्छा र आकाङ्क्षा पूरा गर्ने साधन मात्र होइन पार्टी । यो स्वार्थ र अवसरको झरीमा ओढिहाल्ने छाताजस्तो पनि होइन । भलबाढी छोपेर निपाने बिरौटा खेत रोपेजस्तो हतारमा दल निर्माण हुँदैन । यो आन्दोलनको लामो प्रक्रियाबाट मात्र सम्भव हुन्छ । तब मात्र यसले समाजमा आप्mनो औचित्य प्रमाणित गर्न सक्दछ । अर्थात् पार्टी भनेको ऐतिहासिक आवश्यकताको रूपमा इतिहासको खास मोडहरूमा मात्र स्थापना हुने गर्दछ । यसको आधारभूत राजनैतिक दृष्टिकोणीय अवधारणा हुने गर्दछ । सोही अनुरूपको खास उद्देश्य, कार्यदिशा, कार्यक्रम र गन्तव्य तय गरिएको हुन्छ । तर, कसैको रहर, लहड, सनक, आग्रह–पूर्वाग्रह, महŒवाकाङ्क्षा र अवसरवादी माहौल छोपाइमा मात्र दल निर्माण हुँदैन । यस्तो भावनात्मक सनकमै खोलिएको पार्टीले समस्या समाधन गर्न सक्दैन । बाबुराम भट्टराईले नयाँ शक्ति र रविन्द्र मिश्रले विवेकशील साझा पार्टी खोल्दा पनि मैले यस्तै विश्लेषण गरेर एउटा आलेख लेखेको थिएँ । खास गरेर कुनै पनि पार्टी जति सजिलो र छिटोमीठो गरी खोलिन्छ, त्यति नै तात्तातो पतन पनि हुन्छ । जति बढी निहीत स्वार्थमा कैद हुन्छ, त्यति नै बढी दायरा साँघुरो बन्दछ । यो पार्टी निर्माण र विघटनको द्वन्द्वात्मक वास्तविकता हो ।

यता पुरानो राजनैतिक पार्टीहरूले पनि सिद्धान्त र विचारलाई केन्द्रमा राखेर राजनीति गरेको देखिँदैन । उनीहरू पनि औसत कर्मकाण्डी, औपचारिक र ढोंगी बन्दै गइरहेका छन् । कर्मशीलभन्दा कुरौटे सावित हुँदैगएका छन् । एजेण्डा, इमान्दारिता र नैतिकता भुल्दैगएका छन् । थिति र सङ्गतिभन्दा पनि बेथिति र विसङ्गति बढिरहेको छ । इमान–जमान, विवेक र सदाचारभन्दा पनि भ्रष्ट, आपराधिक र जालीझेली मनोवृत्ति मौलाइरहेको छ । श्रममा भन्दा शानमा, व्यवहारमा भन्दा आदर्शमा, धरातलीय यथार्थतामा भन्दा आडम्वरमा, सारमा भन्दा रूपमा अनि तथ्यमा भन्दा हल्ला–खल्ला वा प्रचारमा रमाउने उपभोगवादी गलत संस्कृति झाँगिदैछ । यस्तो अर्थराजनैतिक सांस्कृतिक चरित्रले हामीलाई सही गन्तव्यमा पु¥याउँदैन । यसले केवल यस्तै बेमौसमी साङ्गीतिक धुनहरू बजाउला,  कसैलाई अन्जानमै नचाउला अनि प्रवेश पास पनि दिलाउला । तर, तपाईं हामीले खोजेको वा चाहेको सूर, ताल र लय भने दिन सक्दैन । तपाईं हामी सबैले यो वास्तविकतालाई बुझ्नु अनिवार्य छ ।

मूलतः राजनीति भनेको निश्चित सिद्धान्त र विचारसहितको मुलुक हाँक्ने मेरुदण्ड हो । समाजलाई नेतृत्व गर्ने संवाहक शक्ति हो । यसकारण राजनैतिक पार्टी सही दृष्टिकोणद्वारा निर्देशित हुनै पर्दछ । वस्तुतः समाज विकास वा परिवर्तनजस्तो निरन्तर आन्दोलनको चालक शक्ति भनेको सिद्धान्त नै हो । त्यसलाई परिचालन र सङ्गठित गर्ने अहम् साधन पार्टी हो । अर्थात् व्यक्तिको विकल्प पार्टी हुनसक्छ तर, पार्टीको विकल्प दन्त्य कथाको राजकुमार हुन सक्दैन । भए पनि त्यो क्षणिक हुन्छ साथै उपलब्धि वा परिणाममुखी पनि हुँदैन । त्यसैले पार्टी बिग्रियो वा भत्कियो भने पनि रूपान्तरण गरेर समाधान खोज्नु सही हुन्छ । बरू पार्टीमाथि खबरदारी र निगरानी बढाउनु हाम्रो दायित्व हो । तब मात्रै यसले सही नेत्रृत्व गर्न सक्दछ ।

सारतः स्वतन्त्र व्यक्ति वा पार्टी भनेको पार्टी प्रतिको असन्तुष्टी, आग्रह, पूर्वाग्रह र वितृष्णाको भारी बिसाउने उकाली बाटोको चौतारी हो । यो अन्तिम गन्तव्य होइन । मनको भावना, वह, पीडा, चाहना, उपभोगवादी वासना र प्यास मेटाउने अस्थायी मूल मात्र हो । सजिलो र मैदान बाटो भएर चुचुरा चढ्ने रोमाञ्चकारी कल्पना त गर्न सकिएला तर, यथार्थ त्यस्तो हुँदैन । धरातल विना हावामा महल खडा गर्ने कथा सुन्दा सबैको नजर माथि माथि आकाशमा पुग्दछ, जुन बेला दुई कदमअघिको खाल्डोमा हाम्रो पाइला फस्दैछ भन्ने न्यूनतम् ज्ञान हुँदैन । किनकी हावाको महल कल्पना हो भने अगाडिको खाल्डो यथार्थ हो । अर्थात् कठिन र झन्झटिलो भए पनि यथार्थलाई आत्मसात गर्नैपर्दछ ।  शिखरमा पुग्नु छ भने सजिलो र अप्ठ्यारो अनि उकालो र तेर्सो सबै हिँड्नु पर्दछ । सहजता र जटिलता दुवै झेल्नु पर्दछ । अझ राजनैतिक आन्दोलनमा त असहज, जटिल र कठिन परिस्थितिको सामना गरिनै रहनु पर्दछ । यो सार्वभौम नियम हो ।

त्यसैले हामी मनोगतवादीभन्दा वस्तुवादी हुनु पर्दछ । भावनाभन्दा विचारद्वारा निर्देशित हुनु पर्दछ । सिद्धान्त र विचारसहितको भावना अङ्गीकार गर्नु पर्दछ । राजनीति र राजनीतिभित्रको एजेण्डाहरू आत्मसात गर्नु पर्दछ ।  निरपेक्ष भावना र चाहनाको कुरा गरेर गन्तव्यमा पुगिँदैन । यद्यपि सजिलो, सहज र स्वादिलो पक्ष हावी भने यस्तै कुरा गर्दा हुन्छ ।  तर समस्याको चुरो पत्तो लगाउन सकिन्न । चुरो पत्तो लगाउन नसक्नु भनेको निकास पहिल्याउन नसक्नु हो । मैदान बाटोबाट मात्र सगरमाथा पुग्ने स्वेर कल्पना त गर्न सकिन्छ तर यथार्थमा पुग्न सकिँदैन । यस्तो काल्पनिक भावनाहरूले क्षणिक मज्जा, सन्तुष्टि र रोमाञ्चकता त पैदा गर्ला । उत्तरआधुनिक संस्कृति हावी भइरहेको समाजमा ठूलै हिस्सा जनतालाई भ्रमित पार्न पनि किएला । चुनाव पनि जितिएला । पात्र परिवर्तन पनि होला । पद–प्रतिष्ठाको अवसर पनि पाउला । तर, राज्यव्यवस्थाको चरित्र बदल्न सकिँदैन । राज्यसत्ताको चरित्र, कार्यशैली र सोच चिन्तन नबदलिएसम्म समाजमा गुणात्मक परिवर्तन हुँदैन । यो सच्चाइलाई हामी सवैले वुझ्न जरुरी छ ।

तसर्थ, समाजलाई हमेसा विचारले दिशानिर्देश गरिरहेको हुन्छ । त्यस्तो विचार राजनीतिक पार्टीमा मात्र हुन्छ । यद्यपि कुन पार्टीको विचार सही छ भनेर अन्वेषण गर्नु सर्वाधिक विचारणीय पक्ष हो । स्वतन्त्र र स्वतन्त्र पार्टीलाई समर्थन गर्नु भनेको नितान्त भावनाको कुरा हो । नयाँ गैरराजनीतिक अनुहारहरूको उत्कट लालसा अभिव्यक्त हुने उत्तरआधुनिक मनोविज्ञानको उपज हो । राज्यसत्ताको चरित्र बदल्न र आमूल रूपान्तरणको लागि होइन । सोच, चिन्तन र दृष्टिकोण बदल्न होइन । उनीहरूको गुलियो नारामा पनि औसत परम्परागत झल्को उही छ । नेपालको भीरपहराहरूमा यस्ता धेरै सुगरकोटेड नारा र प्रतिबद्धताहरू गुञ्जिसकेको छ अनि नदी–नालाहरूमा बगिसकेको छ । नागरिकहरुको कान कानमा परिसकेकोछ । अनि दिलदिमागमा घुसिसकेको छ । भीषण सङ्घर्षको प्रक्रियाहरू गुज्रिसकेको छ । अर्थात् यस्ता नारा र कार्यक्रमहरू पटक्कै नयाँ होइनन् । हामीलाई नाराको कति पनि अभाव छैन । अभाव निरन्तर प्रक्रियामार्फत् व्यावहारिक कार्यान्वयनको हो । योजना र कार्यक्रमहरूलाई अन्तिम उद्देश्य प्राप्त नभएसम्म आन्दोलनको रूपमा निरन्तर अघि बढाउन नसक्नु हो ।

त्यसैले कसैको भावना र भ्रममा वहकिनु भन्दा सचेत भएर आप्mनो निर्णयहरू गर्नु पर्दछ । यो वा त्यो नाममा कसैको वहकाउ, भावना, लहड, सनक र महŒवाकाङ्क्षाको पछि लाग्दा गन्तव्यमा पुगीदैन । कसैको बोलीको लोलीमा धेरै तरङ्गीत वा हौसिएर पछि लाग्नु आफ्नै कमजोरी हुनेछ । लेख्य र कथ्य आदर्शका वाणीहरू रूप मात्रै हुन् । व्यावहारिक कार्यान्वयनको शृङ्खला र योजना सार पक्ष हो । कसैको प्रवचन, माहौल, भीडभाड, हल्लाखल्ला वा प्रचारकै भरमा विश्वास गर्नु वैचारिक–राजनैतिक दरिद्रता हो वा राजनैतिक सुभ्mवुझको कमी हो । सचेत नागरिकहरूले पनि यस्तो दरिद्रता व्यक्त गर्नु भनेको अपराधतुल्य हो । यसकारण बिग्रेकोलाई सच्याएरै भए पनि राजनैतिक पार्टीको साँचो विकल्प पार्टीमा नै खोज्नु पर्दछ । तर, अपवादमा बाहेक स्वतन्त्र व्यक्ति वा पार्टी राजनैतिक पार्टीको विकल्प हुन सक्दैन । किनकि पार्टी नै अन्तिम समाधन हो । यो आधारभुत सच्चाइलाई सवैले आत्मसात गर्न जरुरीछ ।