बेलबारी । सहकारी संस्थाका कर्मचारीबाटै बचतकर्ताको करिब ३१ लाख रुपैयाँ अनियमितता भएको पाइएको छ ।

मोरङको सुन्दरहरैंचा–६ गछियामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी विवेक खवासले संस्थालाई थाहा नदिई सदस्यको कीर्ते हस्ताक्षर गरी बचत रकम झिक्ने गरेको पाइएको हो ।

गत शुक्रबार संस्थाको बचत रकम गणना गर्दा पूरा रकम नभएपछि सम्बन्धित कर्मचारीलाई सोधपुछ गर्दा हिनामिना भएको पाइएको संस्थाले जनाएको छ । संस्थामा नियमित रूपमा कारोबार गर्न नआउने बचतकर्ताको खाताको प्रयोग गरेर खवासले अनियमितता गरेको संस्थाले जनाएको छ ।

कर्मचारी खवासले रेमिट्यान्सको पैसा पनि हिनामिना गरेको पाइएको छ । चिनजानका व्यक्तिले आफ्नो खातामा राख्नका लागि रेमिट्यान्समार्फत् पठाएको पैसा समेत निकालेर उनले आफै लैजाने गरेको पाइएको संस्थाले जनाएको छ । उनले संस्थाको सफ्टवेयरबाट रसिद काटे पनि सो रसिद सफ्टवेयरबाट हटाउने (रिजेक्ट गर्ने) जस्ता कार्य गर्दै आएकोे पाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए ।

रकम हिनामिना भएको पाइएपछि प्रहरी चौकी गछियामा लगेर १ दिन राखी सोधपुछ गर्दा तथा हिसाब हेर्दा करिब ३१ लाख बराबरको रकम हिनामिना गरेको पाइएको सञ्चालक समिति अध्यक्ष अर्जुनराज अधिकारीले बताए । त्यसपछि वडानम्बर ७ का वडाध्यक्ष भूवनसिंह आले मगर र वडानम्बर ३ का वडाध्यक्ष विदुर ढुङ्गानासहित संस्थाका प्रतिनिधि बसेर कर्मचारीले हिनामिना गरेको रकम असुल उपर गर्ने गरी लिखित कागज भएको अध्यक्ष अधिकारीले बताए ।

अधिकारीका अनुसार ती कर्मचारीले ९ लाख ९५ हजार रुपैयाँको चेक संस्थालाई दिएका छन् । बाँकी २१ लाख रुपैयाँ भदौ १० गतेसम्ममा तिर्ने शर्तमा उनलाई छाडिएको छ ।

अधिकारीका अनुसार हिनामिना गर्ने व्यक्ति आर्थिक अवस्था कमजोर भएका व्यक्ति भएका हुनाले उनले सो रकम कतै लगानी गरेको आशङ्का गरेर २ महिनाको समय दिइएको हो । संस्थाका सदस्यलाई मार पर्ने गरी गरिएको यो बदमासीमाथि थप छानबिन गरी कारबाही हुने संस्थाका अध्यक्ष अधिकारी बताउँछन् । अध्यक्ष अधिकारीले संस्थाले नगरपालिका तथा प्रदेश रजिष्ट्रार कार्यालयलाई घटनाको विषयमा जानकारी गराइसकेको बताए ।

रकम हिनामिना गर्ने कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने गरेका थिए । केन्द्रका प्रमुख बिदामा बस्दा सेवालाई सहज होस् भनेर उनलाई एड्मिन आइडी दिइने गरेको थियो । सोही क्रममा उनले सो आइडीको दुरुपयोग गरी हिसाब हिनामिना गर्ने गरेको पाइएको संस्थाले जनाएको छ । सो संस्थाका ६ वटा सेवा केन्द्रहरू रहेका छन् । ती सेवा केन्द्रमार्फत् झण्डै ८ हजार शेयर सदस्य र बचतकर्ताको रकम सङ्कलन हुने गरेको छ ।