बिर्तामोड । आन्तरिक राजश्व बिभागले १० करोडभन्दा बढी कारोबार गर्ने ब्यवसायीले ईबिलिङ(कम्प्युटर बिलिङ) गर्न दिएको निर्देशन पुनर्बिचार गर्न नेपाल चेम्बर अफ कमर्शले माग गरेको छ ।

नेपाल चेम्बर अफ कमर्शका प्रदेश न १ उपाध्यक्ष तथा भन्सार तथा राजश्व समितिका सदस्य सन्तोष अग्रवालका अनुसार अहिले ३५ करोडभन्दा बढीको कारोबार गर्ने ब्यवसायीले अनिवार्य रुपमा इबिलिङ गर्नुपर्ने प्रावधान छ । राजश्व बिभागले ३५ करोडलाई घटाएर १० करोडमा झारेकोप्रति चेम्बरले बिरोध गरेको हो ।

बिभागको यस प्रावधानले अधिकांस साना घरेलु उद्योग तथा ब्यवसायिक फर्महरुमा दक्ष जनशक्तिको अभावमा आर्थिक भार तथा प्रशासनिक बोझ पर्न जाने चेम्बर अफ कमर्शको निष्कर्ष छ । ब्यवसाय सञ्चालन गर्न कठिनाई हुने यस प्रावधान सच्याएर पुनः ३५ करोडको दायरा बनाउन चेम्बरले माग गरेको छ ।

यसैबीच चेम्बर अफ कमर्श झापाले पनि बिभागले आगामी साउन १ गतेदेखि लागु हुनेगरी प्रस्ताब गरेको १० करोडको ईबिलिङ सिलिङ परिवर्तन गर्न आग्रह गरेको छ । साना लगानीका ब्यवसायिक फर्म तथा उद्योगहरु यसबाट मारमा पर्ने भएको हुनाले उनीहरुको हितको निम्ति पनि यसको दायरालाई ३५ करोड कायम गर्न चेम्बर अफ कमर्श झापाले माग गरेको छ । झापा अध्यक्ष ओमकृष्ण बिमली र सचिव बिरोध सुवेदीले बिज्ञप्ती जारी गर्दै त्यस्तो माग गरेका हुन् ।