बिर्तामोड । अबिरल बर्षापछी आएको बाढीले झापामा डुवान र कटान तिब्र पारेको छ । झापाका स्थानीय मेची, निन्दा, बिरिङ, कनकाई माई तथा रतुवा खोलामा आएको बाढीले नदी आसपासमा बसोबास गर्नेहरुलाई प्रभावित पारेको छ ।

नेपाल रेडक्रस सोसाईटीका सभापति लोकराज ढकालका अनुसार रतुवा खोलामा आएको बाढीले गौरादह नगरपालिका–६ तेलियाडाँगीमा टप्पु बनाएको छ । बाढी दुईतिरबाट बग्न थालेपछि सो गाउँ टप्पु बनेको हो ।

यस्तै गौरादह ४ र ५ मा ५० घर डुवानमा परेको जानकारी ढकालले दिए । मेची खोलामा आएको बाढीबाट भद्रपुर नगरपालिका–८ मा २५ घर परिवार बिस्थापित भएको जानकारी उनले दिए । यतिबेला शिबसताक्षी नगरपालिका–३ र ४ तथा कमल गाउँपालिका–१ मा कमल बनियानी खोला पसेको उनले बताए । कमल बनियानी खोलाले शिबसताक्षी नगरपालिका–६ मा ४० घर डुवानमा परेको ढकालले बताए ।

झापा गाउँपालिका–१ मिलनबस्तीमा ९० घर डुवानमा परेको छ भने गौरिगञ्ज गाउँपालिका–१ मा ४ घर बिस्थापित भएको रेडक्रसले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । बाढी प्रभावित क्षेत्रहरुमा उद्दारका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचमला गरिएको झापा प्रशासनले जनाएको छ ।