धनकुटा । योजना आयोग प्रदेश नं. १ का उपाध्यक्ष डा. पूर्णकुमार लक्समले अबको राजनीति आयआर्जनसँग जोडिएन भने देश फस्ने बताएका छन् ।
बिर्तामोडमा आइतबार आयोजित परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिसँग भएको अन्तरक्रियामा आयआर्जन र समृद्धिका विषयमा बोल्दै यस्तो बताएका हुन् ।
‘हामीले संविधानमा समाजवाद उन्मुख देश भनेर त लेख्यौं तर, समाजवादभित्र समृद्ध बन्ने योजना चाहिँ ल्याउन नसक्दा मुलुक सङ्कटको घडीमा फस्दै गरेको अवस्था छ । त्यसैले आजआर्जनका बाटोहरू पहिल्याउनु पर्छ’–उनले भने । नेपालका राजनीतिक दलले समृद्धिका ढोका खोल्न नसकेको धेरै उदाहरणहरू रहेको उनले बताए ।
शिक्षित र दीक्षित युवा शक्तिहरू विदेश पलायन भएका हुँदा त्यस्ता युवालाई स्वदेशमै प्रयोग गर्न सके देशले नयाँ मोड लिने उनले बताए । प्रवद्र्धन समितिले घरेलु मदिरालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने योजना अत्यन्तै राम्रो र राज्यलाई सहयोग पुग्ने सन्देश भएको उनले बताए ।
तर, मदिरा ऐन ३१ र नियमावली ३२ ले केही प्रावधानमा अवरोध सिर्जना गरेकाले त्यसलाई फुकाउन दललाई झक्झकाउनु पर्ने र घरेलु रक्सीबाट देशलाई हुने फाइदाका विषयमा चर्चा गर्नुपर्ने उनले बताए ।
प्रवद्र्धन समितिका अध्यक्ष टेक खजुम, बुद्धिजीवी देश वनेम, महिला नेतृ सरस्वती सिङ्घक, शान्ता तामाङ, दिलकुमार नेम्वाङ, वीरेन मेचे, एलपी पालुङ्वालगायतले डा. लक्समलाई जिज्ञासा राखेका थिए ।
प्रदेशस्तरीय प्रवद्र्धन समितिलाई फराकिलो बनाउन इलाम जिल्लाबाट साधना फागो, गीता याम्फू राई, मोरङबाट शान्ता तामाङ, सङ्खुवासभाबाट नर्बु शेर्पा, सुनसरीबाट जेन्टल लावती, धनकुटाबाट पार्वती राई, झापाबाट हरिमुनिया धिमाललाई मनोनयन गरेको छ । उक्त समितिले प्रदेशस्तरीय राजनीतिक दलसँग अन्तरक्रिया गर्दै काठमाडौँका बुद्धिजीवी, जातीय सङ्गठनका प्रमुख, अर्थविद्सँग छलफल गर्ने निर्णय गरेको छ ।