धरान । पिण्डेश्वर विद्यापीठ धरानमा तीनदिने प्राध्यापन क्षमता विकास तालिम सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा असार १० देखि १२ गतेसम्म तालिम सञ्चालन भएको हो । विद्यापीठमा शिक्षण गर्ने प्राध्यापकहरूमा विषयगत र सीपगत क्षमता विकासका लागि कार्यक्रमको आयोजना गरिएको संयोजक प्रा.डा.चन्द्रमणि नेपालले बताए । तीन दिनमा १० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
तालिमको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका कुलसचिव नीलमणि पोखरेलले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपाने, विद्यापीठका पूर्व प्राचार्यहरू प्रा.नारायणदत्त पौडेल, प्रा.नारायणप्रसाद शर्मा कट्टेल एवम् प्रा.वंशीधर कट्टेललगायत उपस्थित थिए । कार्यक्रममा एक दर्जनभन्दा बढीले विभिन्न शीर्षकका कार्यपत्र प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्बाहाङले बाल्यकालमा आफूले संस्कृत पढ्दाको अनुभव सुनाउँदै संस्कृत शिक्षाले व्यक्तिलाई अनुशासनमा राख्ने, नैतिक आदर्श सिकाउने र कर्तव्यनिष्ठ एवम् इमानदार नागरिक बनाउने कुरा बताए ।
त्यसैगरी उप–प्रा. जीवनकुमार राईले संस्कृत भाषा विश्वकै प्राचीन र समृृद्ध भाषा रहेको भन्दै संस्कृत विषय प्राध्यापनका लागि यस कार्यक्रमले उल्लेख्य योगदान पु¥याउने बताए ।