सुनसरी । सुनसरीको दशगजा क्षेत्रमा भारतीय पक्षले सीमा अतिक्रमण गरी घरटहरा बनाएको विषयमा सुनसरी प्रशासनले छानबिन गरेको छ ।
जिल्ला प्रशासन सुनसरीले दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय पक्षले घरटहरा बनाएको विषयमा अनुसन्धान गरेको हो । कोसी गाउँपालिका–८ भण्टाबारीस्थित तीनकुने नाकामा भारतीय पक्षले अतिक्रमण गरी टहरा बनाएको समाचार प्रकाशित भएपछि प्रशासनले चासो देखाएको हो ।
सामाजिक सञ्जालमा निकै भाइरल भएको उक्त समाचारका विषयमा अनुसन्धान गर्दा अतिक्रमण नभएको पाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले शनिबार आफ्नै नेतृत्वमा अतिक्रमण गरिएको क्षेत्रमा स्थलगत अनुगमन गर्दा त्यस्तो नपाइएको बताए ।
उनले सीमा अतिक्रमण गरी भारतीय पक्षले कुनै पनि प्रकारको भौतिक संरचना नबनाएकाले त्यस्ता भ्रमपूर्ण समाचारका पछि नलाग्न पनि अनुरोध गरेको छ । तीनकुने नाकास्थित रहेकोे सीमा स्तम्भ नम्बर २०६/५ र २०६/६ को दसगजा क्षेत्रभन्दा भारतीय पक्षले २८ मिटरभित्रै अस्थायी टहरा निर्माण गरेकोले सीमा अतिक्रमण गरिएको भन्ने समाचारमा सत्यता नभएको उनले बताए ।