पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ ।
गाउँपालिकाको १२ औँ गाउँसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने १० जना कर्मचारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेश सभा सदस्य सीता थेवेले सम्मान–पत्र र नगद हस्तान्तरण गरिन् ।
सम्मानित हुने कर्मचारीहरूमा प्राविधिक शाखाका सव–इन्जिनियर इन्द्रहाङ तुम्बापो, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख मदन थापा, कृषि शाखा प्रमुख इमकुमारी तामाङ, वडासचिव, स्वास्थ्यकर्मीलगायत १० कर्मचारी छन् ।
त्यस्तै सोही सभाले निवर्तमान जनप्रतिनिधिलाई पनि सम्मान गरेको छ । गाउँपालिकाले निवर्तमान जनप्रतिनिधिहरूलाई सम्मान–पत्र, खादा र फूलमालाले सम्मान गरेको हो ।
स्थानीय तहको पहिलो निर्वाचनमा निर्वाचित भई सफलतापूर्वक पाँच वर्षे कार्यकाल पूरा गरी समृद्ध गाउँपालिका निर्माणको लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सीता आचार्यलगायत वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यसहित २९ जनालाई सम्मान गरेको हो । गाउँपालिकाले १२ औं गाउँसभामार्फत् नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।
बजेट तथा कार्यक्रम प्राविधिक कारणले प्रस्तुत हुन नसकेको गाउँपालिकाले जनाएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्रबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदी, प्रमुख अतिथि १ नं. प्रदेश सभा सदस्य सीता थेवेलगायतको उपस्थिति रहेको थियो ।