स्थानीय तह निर्वाचन २०७९, दोस्रो संस्करणपछि निर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्बापो र उप–प्रमुख देवीमाया काफ्ले कार्यकालको पहिलो नगरसभा सम्पन्न भइरहेको बेला पूर्ववर्ती दिलिपकुमार राईं नेतृत्वको परियोजनाअनुरुप खरिद प्रक्रियामा रहेको दमकल आज प्राप्त भएको छ । 

दमकल पाल्न गाह्रो र निकै महंगो हुने भए पनि खासगरिकन खडेरीयाममा हुने आगजनीका समयमा स्थानीयले व्यग्रतापूर्वक यसको माग गर्ने गरेका थिए । निवर्तमान स्थानीय सरकारले आफू जाँदाजाँदै दमकल खरिद प्रक्रिया अघि बढाएको थियो ।

टेण्डर प्रक्रिया छिचोलेर आजै मात्र पथरी शनिश्चरे नगरपालिकामा दमकल प्राप्त हुनुलाई स्थानीयले एउटा सुखद् समयको आरम्भको रूपमा सामाजिक सञ्जालमा चित्रण गरेका छन् । योसँगै राष्ट्रिय राजमार्गस्थित उर्लाबारी, पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी चारवटै पालिकाहरू दमकलका धनी भएका छन् । 

यता– भौतिक निर्माण र पूर्वाधार विकास सँगसँगै मानव संशाधनको विकास र संगठितस्वरुप विकासमा उत्तिकै प्राथमिकता दिएको यसपटकको नीति, कार्यक्रम र बजेट पेश भएकोले यसबाट बहुसंख्यक समुदायलाई छोएको र शिक्षा, स्वास्थ्य, मानव सुरक्षा आदिका क्षेत्रमा विशेषतः सम्बोधन भएकोले आम सरोकारवालाको सरोकार सहितको नीति, कार्यक्रम र बजेट आजको सभामा प्रस्तुत भएको विश्वमणि निरौलाले बताएका छन् । 

विषयगत जिम्मेवारीबोधका साथ प्रस्तुत कार्यक्रममा निर्वाचित जनप्रतिनिधिसम्बद्ध राजनीतिक दलको तर्फबाट चुनावाताका अघि सारिएको प्रतिबद्धतापत्रको झल्को आएको राजनीतिकर्मी युवराज बास्कोटाले आफ्नो पेजमा उल्लेख गरेका छन् । बास्कोटा भन्छन्– विगतमा दामासाही ढंगले सिलिङ बजेट बाँडिन्थ्यो, यसपटक संघीयताको राजनीतिक मर्म र भावनाअनुरुप एउटा स्थापित मानकअनुसार बजेट विनियोजन भएको छ ।