भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७९/०८० सालको बजेट ९ करोड ६२ लाखको ल्याउन लागेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषि केन्द्रित बजेट ल्याउन लागिएको अध्यक्ष सरोज बस्नेतले बताए ।

खाने तेलमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत तोरी, सर्सिउँ र सूर्यमुखीको पकेट क्षेत्र बनाउने गरी बजेट ल्याउन लागेको उनले जानकारी दिए  । खाने तेल, लसुन, प्याज, टमाटर र मसला जन्य बस्तुहरू पालिका बाहिरबाट आयत गर्नु पर्ने बाध्यता रहेकाले कृषि केन्द्रित बजेट आउने अध्यक्ष बस्नेतको भनाई छ ।

उनले भने “ एक घर एक करेसाबारी कार्यक्रमले कृषिमा आत्मनिर्भर बनाउँदै आयआर्जनका साथै रोजगारी समेत सिर्जना गर्छ , खाने तेल लगायत सबै बस्तुहरूको मूल्य आकासिएको वेला गाउँपालिका बासीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले यस्तो योजना अगाडी सारेको हो ।”

यस्तै गाउँपालिकाले कृषि पछि पर्यटन शिक्षा , स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । टेम्केमैयुङ गाउँपालिकामा पर्यटन पर्वद्धनको सम्भावना धेरै भएकाले पर्यटनलाई प्राथमिकता राखेर बजेट ल्याउन लागिएको हो ।

यो गाउँपालिका नेपालको घुम्नै पर्ने सय वटा गन्तव्यको सुचिमा समेत परेको छ । यहाँ घुम्नै पर्ने सय वटा गन्तव्यको सुरुचिमा परेको मुन्धुम पदमार्ग अन्तर्गत पर्ने ट्याम्के डाँडा , चखेवा , हासपोखरी , मैयुङ डाँडा , लगायत रमणीय पर्यटकीय क्षेत्रहरू रहेका छन् ।