विराटनगर । मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडी तोडफोड गरेका छन् ।

अध्यक्षका छोरा ज्योति गच्छदारले गाउँपालिकाको कार्यालयमै पुगेर प्रदेश–१–को.१ प ५७८ नम्बरको गाडी तोडफोड गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

काङ्ग्रेसबाट निर्वाचित आफ्ना बुबाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँड गर्दा एमालेका जनप्रतिनिधिलाई स्थान दिएको भन्दै आक्रोसित बनेका ज्योतिले बुबाले चढ्दै आएको गाडी तोडफोड गरेको स्थानीयको भनाइ छ ।

मङ्गलबार साँझ भित्र कार्यपालिका बैठक चलिरहेको बेला उनले बाहिर पार्किङमा राखेको गाडी तोडफोड गरेको स्थानीयको भनाइ छ । बजेट निर्माणलगायत विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा दिनभर छलफल भएको थियो ।

अध्यक्ष गच्छदारले आफ्नो छोराले गाडी तोडफोड गरेको स्वीकार्दै उनलाई गाउँपालिका बैठकले जे गर्छ, त्यही सजाय हुने बताए । उनीविरुद्ध उजुरी नआएको भन्दै प्रहरीले घटनामा चासो दिएको छैन ।