विजयपुर । नेपाल आयल निगमले २ महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि गरेको छ ।

निगमले असार ५ गते प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरेपछि २ महिनामा प्रतिलिटर ४० रुपैयाँले बढेको हो । निगमले रसिया–युक्रेन युद्धको कारण देखाउँदै मूल्य वृद्धि गर्दै आएको छ । १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको मूल्यअनुसार इण्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी) बाट मूल्य वृद्धि गरेको भन्दै २१ रुपैयाँले वृद्धि गरेको हो ।

निगमले आइओसीलाई असार ९ सम्म २२ अर्ब भुक्तानी गर्नुपर्ने र खरिद लागत पनि बढेको जनाउँदै मूल्य वृद्धि गरेको हो । निगम चरम् आर्थिक सङ्कटबाट गुज्रिँदै गएकाले पेट्रोलियम पदार्थको समग्र आपूर्ति व्यवस्था दुरुस्त बनाउन निगम सञ्चालक समितिले ५ गते २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर पेट्रोलको १ सय ९९ रुपैयाँ पुर्याएको छ ।

त्यस्तै डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ रुपैयाँले वृद्धि गरी प्रतिलिटिर १९२ रुपैयाँ पु¥याएको छ । हवाई इन्धन आन्तरिकतर्फ १९ अमेरिकी डलर वृद्धि गरी प्रतिलटिर १ सय ८५ र वाह्यतर्फ १ सय डलरले वृद्धि गरी १ हजार ६ सय ४६ पु¥याएको छ । वैशाख ३१ गते एकैचोटी पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले वृद्धि गरेको थियो ।  आइओसीलाई २५ अर्ब भुक्तानी दिन समस्या भएको देखाउँदै १० रुपैयाँ वृद्धि गरेको थियो ।

जेठ ८ गते पुनः प्रतिलिटिर १० रुपैयाँले वृद्धि गर्यो । जेठ २६ गते नेपाल सरकार अर्थमन्त्रालयको निर्णयबाट पेट्रोल र डिजेलको पूर्वाधार कर बराबरको रकम भन्दै प्रतिलिटर १० रुपैयाँले घटाएको थियो । असार ५ गते २१ रुपैयाँले वृद्धि गरेपछि मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै चौतर्फी विरोध प्रदर्शन भइरहेको छ ।

बुद्धिजीवी डा.राजेन्द्र शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा नेपालमा पनि वृद्धि हुनु स्वभाविक रूपमा लिएका छन् । डा. शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय बजारमा तेलको दाम बढ्यो । नेपालमा पनि बढ्नु स्वभाविक हो ।’ उनले प्रतिप्रश्न गर्दै थप लेखेका छन्, ‘कल्याणकारी राज्यको दायित्व के हो ?’ उनले बढेको मूल्यमा सरकारले कर छुट दिनु राज्यको दायित्व लेखेका छन् । उनले ‘बिहान ३ घण्टा र बेलुका ३ घण्टा खाना पकाउन विद्युत्मा प्रतियुनिट ५ रुपैयाँ लिनु । नत्र के को कल्याणकारी राज्य ?’–उनले प्रश्न गरेका छन् ।

मूल्यवृद्धिको चौतर्फी विरोध
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्धमा चौतर्फी विरोध भएको छ । बुधबार धरानमा मूल्यवृद्धि विरुद्धमा सिठ्ठी जुलुस प्रदर्शन गरिएको छ । नेपाली काङ्ग्रेसको भातृसङ्गठन नेपाल तरुण दलका विभिन्न समितिले सिठ्ठी जुलुस प्रदर्शन गरेको हो ।

समितिको संयुक्त आयोजनामा भएको विरोध तथा सिठ्ठी जुलुस धरानको सिंहदेवी चौकबाट सुरु भई भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल तरुण दल धरान उपमहानगर समितिका नरसिंह राई, नेपाल तरुण दल क्षेत्रीय सचिव रोजन रणपहेलीलगायतले सम्बोधन गरेका थिए । उनीहरूले मूल्यवृद्धि तुरुन्त फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

यस्तै मङ्गलबार स्वतन्त्र नागरिक समाज धरान उपमहानगर समितिले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । धरान उपमहानगरपालिका परिसर, छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लेखिएको ब्यानर र सेती, बूढीगण्डकीको नाममा पेट्रोलियम पदार्थको नाममा लगाएको कर खारेज गर, आयल निगमको चुहावट बन्द गर, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर, बढेको महँगी फिर्ता गर, सरकार तेरो पाराले दुःख पायो साराले, कमिसनखोरी, बोनसखोरी होसियारलगायतका प्लेकार्ड बोकेका थिए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए थप विरोधका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । स्वतन्त्र नागरिक समाजका तर्कबहादुर मगरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थप चर्काउने बताए ।