बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जना आन्दोलनकारीलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबारे हाटका ब्यवसायीले मागेको बिद्युत मिटरको सिफारिस दिन नगरपालिकाले आनाकानी गरेपछि उनीहरु आन्दोलित थिए । उद्योग वाणिज्य संघले ब्यापारीको पक्षमा भन्दै नगरपालिकाबिरुद्ध आन्दोलनका कार्यक्रम र्साजनिक गरिसकेको छ ।

सोही कार्यक्रम अन्तर्गत आन्दोलनमाम रहेको अवस्थामा बुधबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई अहिले इलाका प्रहरी कार्यालयमा राखिएको डिएसपी रुगम बहादुर कुवरले जानकारी दिएका छन् ।

बिर्तामोड–५ स्थित बुधबारे हटियामा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा प्रवेश गर्न खोजेपछि उनीहरुसहित ११ जनालाई नियन्त्रणमा लिएको डिएसपी कुँवरले जानकारी दिए ।

वाणिज्य संघको नाममा गरिएको आन्दोलन अराजक भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बुधबारे हटियाको समस्या समाधानका लागि नगरपालिकाले कार्यदल गठन गरिसकेको छ । नगरउपप्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा बनेको कार्यदललाई १ महिनामा प्रतिवेदन बुझाउन म्याण्डेड दिइएको छ ।