धरान । धरानको युएन कलेजको ‘बीएचएम विभाग’को आयोजनामा प्रदेश १ स्तरीय अन्तर प्लस टु ‘युएन सेफ प्रतिस्पर्धा’मा इटहरीको स्किल कलेज च्याम्पियन बनेको छ । 

युएन कलेजमा सोमबार सम्पन्न पाककला प्रतियोगितामा स्किल कलेजका नवीन खड्का र इक्सा लिम्बूको समूह विजेता बनेका हुन् । इटहरीकै प्रिमियम कलेजको समूह दोस्रो बन्यो । प्रिमियमका राहुल धमला र विपना कार्कीको समूह दोस्रो बनेका हुन् । नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलका याङ्जी शेर्पा र लक्ष्मी पोख्रेलको समूह तेस्रो भएको युएन कलेजका प्रमुख डम्बर तुम्बापोले जानकारी दिए । 

विजेता टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित युएन कलेजमा छात्रवृत्तिको अवसर पाएका छन् । पहिलो हुने टोलीले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, दोस्रोले ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति र तेस्रोले २० हजार रुपैयाँको छात्रवृत्ति प्राप्त गरेको प्रमुख तुम्बापोले जानकारी दिए ।

प्रतियोगितामा निर्णायक ग्लोबल नेप्लिज सेफ फेडेरेसन प्रदेश १ का अध्यक्ष निरज श्रेष्ठ र फेडेरेसन सुनसरीका अध्यक्ष प्रेम लिम्बू रहेका थिए । विजेतालाई निर्णायकसहित कलेजका प्रमुख तुम्बापो, कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झा र होटल म्यानेजमेन्ट संयोजक गगन श्रेष्ठले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा चारवटा कलेजका ६ समूह सहभागी भएको संयोजक गगन श्रेष्ठले बताए । विद्यार्थीले पाककलामा सिकेका ज्ञानलाई व्यवहारिक प्रयोग गर्न प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।