विजयपुर । नेपाली काङ्ग्रेसका प्रदेश सभा सुनसरी क्षेत्र नं. १(१) का उपसभापति प्रदिप शाक्यको राजीनामा पत्र स्वीकृत गरेको छ ।
सोमबार पार्टी कार्यालय धरान–२ मा कार्यसमितिका सभापति अनिल श्रेष्ठको सभापतित्वमा बसेको बैठकले उपसभापति शाक्यको राजीनामा स्वीकृति गरेको हो । विभिन्न निर्णयहरु सार्वजनिक गरेको प्रदेश सभा सुनसरी क्षेत्र नं. १(१) का सचिव एवं प्रवक्ता युवराज शंकरले जानकारी दिए ।
शाक्यले स्थानीय निर्वाचनको मुखैमा राजीनामा दिएका थिए । उनलाई २०७४ सालको निर्वाचनमा अन्तरघातको आरोप लागेको थियो । सोहि आरोप हालसम्म पनि लागिरहेकाले असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको सोहि वडाका एक नेताले बताए ।
उनले भने, ‘अन्तरघातको आरोप थियो । स्थानीय निर्वाचनमा वडा अध्यक्षको आकांक्षी थिए । टिकट नपाउने भएपछि राजीनामा दिएको उनको बुझाइ छ । उनले राजीनामा पत्रमा एक पटक लागेको आरोप जीवनभर खेपिरहन नसक्ने उल्लेख गरेका थिए । समितिकै अर्का मनोनित सदस्य एकराज राईको पनि राजीनामा पत्र स्वीकृत गरेको छ ।
बैठकले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टिको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । बैठकमा प्रदेश सभा सुनसरी क्षेत्र नं. १(१) अन्तर्गतका विभिन्न वडाबाट कारबाहीको सिफारिस साथै पार्टिलाइ सुझावहरुको पत्र आएको बारे कार्य समितिलाई जानकारी पनि गराइएको छ ।
बैठकमा धरान उप–महानगरपालिकाले स्थानिय कर बापत उठाउने रकम भारी मात्रामा वृद्धि गर्न लागेको सुचना प्राप्त भएकाले स्थानिय सरकारलाइ अप्ठेरो अवस्थाबाट जनता र व्यावसायि गुज्रिरहेको परिस्थितिलाई मध्यनजर गरि कर वृद्धि नगर्न धरान उपमहानगरपालिकालाई आग्रह गर्ने निर्णय गरिएको छ।
त्यसैगरी संघ र प्रदेशको निर्वाचनलाइ दृष्टिगत गरि असार १ गते देखि ३१ गते सम्म मतदाता परिचय पत्र दर्ता गराउन १८ वर्ष पूरा भएका नेपालि नागरिकलाइ समन्वयका लागि सकृय भै लाग्न समिति मातहतका नगर समिती र वडा समितिहरुलाइ अनुरोध गर्ने पनि निर्णय गरेको छ ।