वराहक्षेत्र/ अविरल वर्षापछि आएको बाढीले बगाउँदा वराहक्षेत्र नगरपालिकाको वडा नं. १ बस्ने किशोरी स्टीफिना राईको ज्यान गएको छ । आइतबार बगुवास्थित बाघखोलाले बगाउँदा १७ वर्षिया राईको ज्यान गएको हो ।
बेलुका करिव ६ बजे धरानबाट चतरा आउँने क्रममा खोलातर्दै गर्दा अचानक आएको भेलले ३ जना सवार टेम्पूलाई बगाएको थियो । राईको लाश घटना स्थलबाट करिब ३ सय मिटर टाढा शरीर पुरेको र टाउको मात्र देखिने अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय चतराका प्रहरी नायव निरिक्षक विनोद आचार्यले बताए ।
रातीकरिब ११ बजे प्रहरी र सशस्त्रको टोलीले लाश बरामद गरी पोष्टमार्टमको लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको सई आचार्यले बताए ।
दुर्घटनामा मृतक राईकी साथी रसूवा जिल्ला घर भएकी १८ वर्षकी आनिया तामाङ्ग र टेम्पू चालक धरान १७ घर भएका २८ वर्षका राजु राई बच्न सफल भएका थिए ।
खुट्टा र हातमा सामान्य चोट लागेको आनियालाई उपचारपछि मृतक राईको अभिभावकलाई जिम्मा लगाईएको छ । टेम्पु चालकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय चक्रघट्टीमा थप अनुसन्धानको लागि राखिएको प्रहरीले जानकारी दिएको छ ।