बिर्तामोड । झापाका तीनवटा नगरपालिकाले  नवीकरणीय ऊर्जा कम्पनी सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

अर्जुनधारा, कन्काई र बिर्तामोड नगरपालिकाले बायो ग्यास प्लान्टको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको हो । अब चाँडै नै सञ्चालनमा ल्याउने तयारी गरिएको सम्बन्धित नगरपालिकाका अधिकारीले जनाएका छन् । कन्काई नगरपालिकामा निर्माण गरिएको ‘कन्काई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा कम्पनी लिमिटेड’ सञ्चालनमा ल्याउन तीनवटै स्थानीय तह जुटेका छन् ।

तीनवटै नगरपालिकाका प्रतिनिधिले स्थलगत अवलोकन गरेर साझेदार संस्थाबीच स्रोत व्यवस्थापनका विषयमा कुराकानी अघि बढाएको बताएका छन् । सहरी क्षेत्रबाट उत्पादन हुने फोहोरको व्यवस्थानसँगै बायो ग्यास उत्पादन यसको मुख्य लक्ष्य रहेको छ ।

प्लान्ट निर्माणको ९० प्रतिशत काम पुरा भइसकेको छ । कम्पनीका सञ्चालक सुवास भट्टराईले भने, ‘स्थानीय तहको पहलबाट यसलाई तत्कालै सञ्चालनमा ल्याउन सकिन्छ । सञ्चालनका लागि तीनवटै स्थानीय तहले चासो देखाएका छन् ।’

१ हजार २ सय परिवारमा दैनिक ग्यास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको प्लान्ट आगामी असोज महिनादेखि चालु गर्ने तयारी छ । सञ्चालनका लागि नगरपालिकाहरुले आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने हुन्छ । नगरपालिकाहरूले स्रोत व्यवस्थापनमा गर्ने पहलले नै कहिलेबाट सञ्चालनमा ल्याउने भन्ने निर्धारण गर्न सकिने बताइएको छ ।

फोहोर प्रशोधन गरी ग्यास उत्पादन गर्ने र पाइप लाइनमार्फत् घर–घरमा वितरण गर्ने योजनाका साथ अघि बढेको बायो ग्यास प्लान्टका लागि अब ५ करोड आवश्यक छ । १८ करोड लागतमा निर्माण गरिएको प्लान्टमा १३ करोड रकमको काम सम्पन्न भइसकेको निर्माण युनिटले जनाएको छ ।

चालु भएको १ महिनामा ग्यास उत्पादन गर्न सकिने प्लान्टका लागि केही उपकरण आयात गर्न अझै बाँकी रहेको सञ्चालक भट्टराईको भनाइ छ । ४ हजार घनमिटर क्षमताको प्लान्ट निर्माणपछि पाइपलाइन विस्तार गर्दै घर–घरमा ग्यास पु¥याउने योजना रहेको उनले बताए । कोरोना महामारीका कारण समयमा मेसिनरी सामान आयात गर्न नसक्दा आयोजनाको लागत बढ्न पुग्यो’ सञ्चालक भट्टराईले भने, ‘अब सरोकारवालाबीच छलफल सुरु भएको छ, हामी छिट्टै लक्ष्यमा पुग्छौँ ।’

अनुगमनपछि आयोजना सम्पन्न गर्न साझेदार संस्थाबीच स्रोत व्यवस्थापनका विषयमा प्रारम्भिक छलफल सुरु भएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । ‘आयोजनाको काम अन्तिम चरणमा छ । आवश्यक पर्ने सामान आइसकेको छ । तर, अहिलेको समस्या भनेको आर्थिक स्रोत व्यवस्थापनको देखियो’–प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ।

आयोजनाका लागि कन्काई नगरपालिकाले ६२ लाख रुपैयाँ उपलब्ध गराएको छ भने साझेदार संस्थाहरु बिर्तामोड र अर्जुनधाराले पनि आर्थिक दायित्व बहन गर्ने सम्झौता छ । प्लान्टमा तीनवटै पालिकाको समान लगानी रहने बताइएको छ । पालिकाको लगानी शेयर कायम हुने भएकाले भविष्यमा तीनवटै पालिकाको आम्दानीको स्रोत हुने निश्चित छ ।